बीरगंज ३ मंसिर ।
बीरगंज लगायत मध्यतराईका वारा, पर्सा, रौतहट जिल्लाहरुमा धार्मिक एवं लोक आस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ तराईमा यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा सर्वसाधारण जुटेका छन् । विगतमा वीरगंज लगायत मध्यतराईमा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिएको भएपनि यस वर्ष कोरोना सङ्क्रमणका कारण समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको छ । यतिखेर बीरगंज लगायत पर्साको ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरी, ताल तलाउ, नदी किनारको सरसफाइ शुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका विचमै पर्वको तयारी भई रहेको छ । व्रतालुहरुले बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायतका छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न बजारमा निस्किएका छन् । विगतमा जस्तो भिडभाडका साथ पर्व मनाउन सर्वसाधारण नजुटेपछि तयारी भने भव्य रुपमा भई रहेको छ । कार्तिक महिनाको शुक्ल चर्तुर्थीको दिनदेखि शुरु भई चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ समापन हुन्छ भनी मान्याता छ । विशेष गरी तराई मधेशमा मधेशी समुदायले मनाइँदै आएको छठ पर्व केही वर्ष यतादेखि पहाडी समुदाय र मुस्लिम समुदायले समेत मनाउने क्रम बढेपछि यो पर्व लोकप्रिय हुँदै गएको छ । छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । अत्यन्तै निष्ठाका साथ मनाईने छठ पर्व एक मात्र जिवित भगवानको रुपमा रहेको सुर्यलाई आराधना गरि मनाईने भएको हुँदा यस पर्वको महत्व दिन प्रति दिन बढदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय