बीरगंज १९ माघ ।
वीरगंज महानगरपालिकाले मेन सडक अगाडी फोहोर फाल्ने नगर क्षेत्रका विभिन्न स्थानबाट १२ जनालाई कारवाही गरेको छ । सडक अगाडी जथाभावी फोहोर फालेको आरोपमा लिंक रोडबाट अरुण सरावगीलाई ५ सय, पावर हाउस चोकबाट पान पसल संचालक मुन्ना देवानलाई १ हजार, पावर हाउस चौककै फलफुल पसल संचालन गर्ने मेघनाथ सर्राफलाई १ हजार रुपैया जरिवाना गरेको छ भने हट मम सेन्टर, मोतिलाल मुखिया जनही १ हजार जरिवाना गरिएको छ भने पावर हाउस चौककै केडिया इन्टरप्राईजेजलाई २ हजार रुपैया जरिवाना गरिएको छ । फोहोर उठाई सकेपछि पुनः सडकमा फोहोर फालेको आरोपमा निजहरुलाई जरिवाना गरिएको बीरगज महानगरपालिकाका सरसफाई प्रमुख सुरफुद्दिन मियाँले बताउनुभयो । यसैगरी महानगरपालिकाले विहान ५ः३० देखि ११ बजे सम्म फोहोर उठाउने कार्य भई रहेको जनाउदै तोकिएको समयमा फोहोर फाल्न नगरवासीलाई आग्रह गरेको छ । अहिले नगर क्षेत्रको बजार एरियामा विहान, दिउँसो र बेलुका ३ पटक साईरन बजाउँदै फोहोर उठाउने ट्याक्टर संचालन गरिएको र तोकिएको समयमा फोहोर नफाली पसल तथा घर भित्रको फोहोर जथाभावी सडकमा फाल्नेलाई आगामी दिनमा अझ कडा कारवाही गरिने वीरगंज महानगरपालिकाका सरसफाई तथा वृक्षारोपण समितिका संयोजक जय प्रकाश खेतानले बताउनु भयो । फोहोर, धुलोमैलो, लामखुट्टेको नगरीको रुपमा बदनाम कमाएको बीरगंजमा अहिले महानगरपालिकाकै पहलमा बजारक्षेत्रमा भई रहेको सरसफाईको सर्वत्र प्रशंसा भई रहेको छ ।