
बारा, पथलैया – जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट तुलसिपुर, दाङतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट झण्डै ११ लाख रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ।
प्रहरी चौकी पथलैया बाराबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको टोलीले बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा बा.प्र. ३२५६ नम्बरको बसलाई रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा बसको क्याबिन भित्रको सिटमुनि वेवारिसे अवस्थामा टेपले बेरिएको कार्टुन फेला पारिएको थियो। शंका लागेर खोलेर हेर्दा उक्त कार्टुन भित्र विभिन्न प्रकारका चाँदीजस्ता देखिने रेडिमेड गहना लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्टुनबाट जम्मा करीब ६ किलो बराबर (४ रोल) विभिन्न प्रकारका गरगहना बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य रु. १०,८०,०००/- (दश लाख असि हजार रुपैयाँ) रहेको छ।
बरामद गरिएका गहनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।