राम कुशवाहा
बीरगंज १३ जेठ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादबले दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचार र लुटतन्त्रमा लागेको र यो कमाउनिष्टहरुको सरकार भएको आरोप लगाउनु भएको छ ।
समाजवादी पार्टी नेपालको वारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका कार्यकर्ताहरुका लागि आज वीरगंजमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले कांग्रेसले विगतमा कमाई सकेको र अहिले कम्युनिष्टको नाममा वर्तमान सरकारले आतंक मच्चाएको कुरामा जोड दिनुभयो ।
उहाँले विकास र समृद्धिका लागि बैकल्पिक राजनीतिक शक्तिको अगाडी बढन नयाँ शक्तिसँग पार्टी एकिकरण भएको बताउदै मधेशको मुद्दामा कांग्रेस र कम्युनिष्ट भन्दा सधै अग्रपंक्तिमा रहने दावी गर्नु भयो ।
अध्यक्ष यादवले सैद्धान्तिक र वैचारिक रुपमा पार्टी एकता भएको बताउदै अधिकार सममानता र सामाजिक न्यायका लागि तथा नागरिक स्वतन्त्रता र विभेद अन्त्यका लागि समृद्धि र सम्पन्नता सहितको समाजवाद कायम गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका संघिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्टको विकल्पमा तेश्रो शक्तिको रुपमा समाजवादी पार्टी नेपाल स्थापना भएको र गरिवी, जातिय भेदभाव तथा सबै खाले विभेदमा परेका समुदायलाई अधिकार स्थापित गर्न आफूहरु क्रियाशिल रहने बताउनु भयो ।
उहाँले प्राप्त उपलब्धीमाथि समेत चौतर्फी रुपमा आक्रमण भएको बताउदै विकृति र विसंगतिलाई अन्त्य गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
पार्टीका वरिष्ठ नेता अशोक राईले जनतालाई एकताबद्ध र संगठित बनाएर मात्र मुलुक परिवर्तन हुने बताउदै वहिष्करणमा परेकाहरुलाई समावेशी गरि मुलुकको मुल प्रवाहमा ल्याउनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले तराई पहाड हिमालमा विभेदमा परेकाहरुको लागि समाजवादी पार्टी निर्माण भएको कुरामा जोड दिनुभयो ।
समाजवादी पार्टी नेपालका महासचिव रामसहाय यादवको सभापतित्वमा संचालित कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हिशिला यामी, सांसद प्रदिप यादव, हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा वेगम, सिंहासन प्रसाद कलवार, प्रहलाद गिरी, जन्नत अन्सारी, केन्द्रिय सदस्य पुरुषोत्तम झा, शशि कपुर मिया लगायतका नेताहरुको सहभागिता रहेको छ । कार्यक्रममा ४ जिल्लाका ५ सय भन्दाबढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times