
बिरगंज, १६ जेठ — बिरगंज महानगरपालिकामा उच्च तहको नेतृत्व गर्ने व्यक्तिहरूमाथि गम्भीर आरोप लाग्ने संकेत देखिएको छ। वडा नं. १२ का वडा अध्यक्ष सुरेश गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सनसनीपूर्ण पोस्ट सार्वजनिक गर्दै मेयर राजेशमान सिंहमाथि भ्रष्टाचारसम्बन्धी “गोप्य रहस्य” फाश गर्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा गरिएको उक्त पोस्टमा उनले लेखेका छन्, “बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहद्वारा लामो समयदेखि गरिँदै आएको भ्रष्टाचारका बारेमा केही गोप्य जानकारी मसँग सुरक्षित छ। यही मिति २०८२/०२/१८ गते दिउँसो १२ बजे म सार्वजनिक रूपमा ती सबै रहस्यहरू बिरगंजवासीलाई जानकारी गराउनेछु।”
वडा अध्यक्ष गुप्ताले कुन प्रकृतिको भ्रष्टाचार भएको हो भन्नेबारे स्पष्ट खुलासा भने गरेका छैनन्। तर, उनले उल्लेख गरेको ‘गोप्य रहस्य’ सार्वजनिक गर्ने घोषणा पछि सामाजिक तथा राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। यति उच्च स्तरका जनप्रतिनिधिहरूबीच यस्ता आरोप प्रत्यारोप सार्वजनिकरूपमा आउनुले महानगरपालिकाको आन्तरिक व्यवस्थाप्रति पनि प्रश्न उठाएको छ।
यस विषयमा मेयर राजेशमान सिंहको प्रतिक्रिया भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। स्थानीयबासी, नागरिक समाज तथा राजनीतिक विश्लेषकहरू यस घटनालाई गम्भीररूपमा हेरिरहेका छन्।
अब सबैको नजर सुरेश गुप्ताले तोकेको २०८२ जेठ १८ गते दिउँसो १२ बजेतर्फ केन्द्रित छ। त्यो दिन उनले सार्वजनिक गर्ने भनिएको ‘गोप्य रहस्य’ कति प्रमाणसहितको हुन्छ, त्यसले महानगरपालिकाको राजनीतिमा कस्तो असर पार्छ भन्ने विषयमा चर्चा तीव्र बनेको छ।