वीरगञ्ज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्जस्थित वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका करिब १ हजार बिरुवा रोपिएको अस्पतालले जनाएको छ । खुला क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबु, अस्पतालका कर्मचारी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबुले वृक्षारोपण गर्दै वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
डा. बाबुले बढ्दो प्रदूषण र तापक्रम नियन्त्रणका लागि वृक्षारोपण अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन आग्रह समेत गरे ।
स्थानीयवासीहरूले हस्पिटलको पहलको प्रशंसा गर्दै यस्ता अभियानले वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन् ।








