८ असार, विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेका छन् । हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेका हुन् ।

ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेको सडकमा गाडी फसेको पहिलोपटक भने होइन् । बर्खा लागेपछि हरेकदिन मालबाहक ट्रक फस्ने गरेका छन् । सोमबार पनि तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको छ । ट्राफिक प्रहरीले मालबाहक सवारीलाई रोकेको छ ।

वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा तीनवटा लोडेड ट्रकहरू फसेर आवतजावतमा समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलले बताए । ‘बर्खाको समय र कच्ची बाटो भएकाले धेरै लोड बोकेका गाडीहरू फसेका छन्’, उनले भने, ‘हामीले मेसिन पठाएर सडक खुलाउने तयारी गरिसकेका छौँ ।’

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको राम चोकसम्म करिब ६ किलोमिटर सडक अस्तव्यस्त छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ठेक्का लिएको यो सडकको काम समयमा नै पूरा नगरेपछि ठेक्का तोडिएको थियो । अहिले सडक अलपत्र छ ।

योजना कार्यालय, इटहरीका प्रमुख पोखरेलले कटहरी खण्ड निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको बताए ।

उनले एक साता भित्र उक्त खण्डको नयाँ ठेक्का आह्वान गरिने जानकारी दिए । पोखरेलका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ठेक्काका लागि सहमति प्राप्त भइसकेको छ । ‘विभागमा लागत इस्टिमेट पेश भएको छ, लागत इस्टिमेट स्वीकृत भएपछि यसै साताभित्र नयाँ ठेक्काको सूचना निकालिनेछ’, उनले भने ।

यसअघिको ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनीसँगको ठेक्का रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि उक्त मुद्दा खारेज भइसकेकाले अब नयाँ ठेक्का प्रक्रियामा कुनै कानुनी बाधा नरहेको बताए ।

उनका अनुसार पूर्वपश्चिम हुलाकी राजमार्गका लागि सरकारले २९ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय