बर्दिबासमा भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु

185

बर्दिबास मंसिर १० बुधबार । ६ वर्षीया बालिकाको हत्यापछि उत्पन्‍न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि अर्को युवकको मृत्यु भएपछि बर्दिबास क्षेत्र थप तनावग्रस्त बनेको छ ।

मृतक पक्षको आक्रोश नियन्त्रण गर्न स्थानीय प्रशासनले बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घण्टाका लागि जारी गरेको कर्फ्यु (निषेधाज्ञा) आदेश भोलि (बिहीबार) बिहान ६ बजेसम्म थप गरेको छ । प्रशासनले बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि पीडित पक्षको आक्रोशित भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई चुनौती देखिएको उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बाह्रखरीलाई बताइन् ।आइतबारदेखि बेपत्ता भएकी बर्दिबास ५ की ६ वर्षीया बालिका गुलाश खातुनलाई करणी गरी हत्या गरिएको भन्ने खबर बाहिरिएपछि मंगलबार बर्दिबास क्षेत्रमा तनाव सुरु भएको थियो । स्थानीयले घटनाका आरोपीको घरमा आगजनीदेखि पूर्व-पश्‍चिम राजमार्ग अवरुद्ध गर्नेसम्मको विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरीले भिड नियन्त्रणमा लिन गोली चलाएको थियो । सोही गोली लागेर एकजनाको मृत्यु भएपछि तनाव थप जटिल भएको हो ।

प्रहरीले मंगलबार चलाएको गोली लागेका स्थानीय बुद्धिराज (सञ्‍जय) न्यौपानेको उपचारका क्रममा राति १ बजे काठमाडौंस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको छ । उनको मृत्युपछि अवस्था थप आक्रोशित भएको छ । स्थानीयको आक्रोशलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

तर, अवस्था अझै समान्य हुने संकेत नदेखिएपछि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको बर्दिबास इलाका प्रहरी कार्यालयका इन्चार्ज डीएसपी राजन चापागाईंले जानकारी दिए । साभार —बाह्खरी डटकम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस