
वीरगन्ज– नेशनल इन्फोटेक कलेज टुर्नामेन्ट अन्तर्गत आइतबार भएका दुईवटा खेलमा सत्यम कलेज र नेशनल एकाडेमी विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा भएको पहिलो खेलमा सत्यम ले त्रिजुद्ध कलेजलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेशनल एकाडेमीले ज्ञानडा एकाडेमीलाई एक सय ८ रनले पराजित गरेको थियो । सत्यम कलेजले टस जितेर त्रिजुद्धलाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । त्रिजुद्ध कलेजका खेलाडीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाई एक सय ९ रनको योगफल खडा गरेका थिए । त्रिजुद्धका लागि प्रेम कुमार साहले सर्वाधिक ४१ रनको पारि खेलेका थिए । सत्यमका सलमान आलम र सरोज यादवले एक/एक विकेट लिएका थिए । एक सय १० रनको लक्ष्य लिई मैदानमा आएका सत्यम कलेजका खेलाडीले १५ ओभरमै विजय हासिल गरेका थिए । सत्यमले ४ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । सत्यमका आसिम हवारीले चारवटा चौका र एउटा छक्का प्रहार गरि सर्वाधिक ३८ रन बनाएका थिए । अर्का ब्याट्सम्यान सरोज यादवले १४ रन जोडेका थिए । सत्यमका आसिम म्यान अफ दि म्याच घोषित भएका थिए ।
आइतबार भएको दोस्रो खेलमा नेशनल एकाडेमीले ग्यान्डा एकाडेमीलाई एक सय ८ रनको विशाल अन्तरले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेका नेशनल एकाडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा एक सय ९५ रन बनाएका थिए । मन्जित यादवले ५२ बलमा ८२ रनको सानदार पारि खेलेका थिए । उनले ९ चौक्का र ३ छक्का प्रहार गरे । यसैगरि नेशनलका अर्का ब्याट्सम्यान रन्जन यादवले २७ रन बनाएका थिए । ग्यान्डाका तोलाराम जाटियाले २ विकेट हासिल गरे । १ सय ९६ रनको लक्ष्य पाएको ज्ञानडा एकाडेमीका खेलाडी १४.४ ओभरमा ८७ रन बनाएर अलआउट भएका थिए । ज्ञानडाका अन्नत सिन्हाले ३० र कृष्णा सर्राफले २० रन बनाए । नेशनल एकाडेमीका अजय यादवले २९ रन खर्चेर ४ विकेट लिएका थिए । ८२ रन बनाएका मन्जित यादव म्यान अफ दि म्याच घोषित भएका थिए । टुर्नामेन्टमा वीरगन्जका १० वटा कलेजको सहभागिता रहेको नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले जनाएका छन् ।