बीरगञ्ज, १० जेठ । बुधबार बीरगञ्जको बाइपास रोड नगवा पोखरी नजिक ट्राफिक प्रहरीद्वारा चेकजाँचको क्रममा एउटा महिला सञ्चारकर्मीमाथि ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादवले अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ। उक्त घटना हेल्मेटको फित्ता नलगाएको भन्दै रु ५००को चिट काटिएपछि सुरु भएको थियो।

महिला सञ्चारकर्मीले ट्राफिक प्रहरीको यो कारवाहीको विषयमा बुझ्न खोज्दा सहायक निरीक्षक यादवले अभद्र व्यवहार गरेका थिए। यस प्रकारको घटना नागरिकको मौलिक अधिकार र प्रहरीको आचरणको सम्बन्धमा गम्भीर प्रश्नहरू उठाउँछ।

नेपालको संविधान र कानुनी व्यवस्थाले हरेक नागरिकलाई नीति नियम र कानुनका बारेमा जानकारी लिन र सोधपुछ गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ। प्रहरीद्वारा गरिएको कुनै पनि कारवाहीमा नागरिकले सोधपुछ गर्न नपाउनु र यसरी अभद्र व्यवहारको सिकार हुनु न्यायको दृष्टिकोणले अस्वीकार्य छ।

यस घटनाले ट्राफिक प्रहरीको व्यवहार र उनीहरूको चेकजाँच पद्धतिमा पुनर्विचार आवश्यक भएको देखाउँछ। पछिल्लो समयमा ट्राफिक प्रहरीले राजस्व संकलनमा बढी केन्द्रित चेकजाँच गरिरहेको गुनासो बढ्दै गइरहेको छ। यस्तो अवस्थामा, नागरिक र सञ्चारकर्मीहरूको आवाजलाई दबाउनुको सट्टा उनीहरूको प्रश्नहरूको जवाफ दिनु पर्नेमा प्रहरीको जिम्मेवारी हुन्छ।

सम्बन्धित निकायहरूले यस घटनाको उचित छानबिन गरी, दोषीमाथि आवश्यक कारवाही गर्नु अपरिहार्य छ। यसबाट मात्र नागरिकहरूको कानुनी अधिकार र प्रहरीको नैतिक आचरणको रक्षा गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय