
वीरगंज, २६ बैशाख।
भारत–पाकिस्तान तनावलाई दृष्टिगत गर्दै नेपाल सरकारले सिमा क्षेत्रमा कडाई गर्न सर्कुलर जारी गरे तापनि पर्सा जिल्लाका ग्रामिण सिमावर्ती क्षेत्रहरूमा यसको प्रभाव देखिएको छैन। भन्सार क्षेत्र वीरगंजमा केही हदसम्म निगरानी कडाई गरिए पनि भिस्वा लगायतका ग्रामिण नाकाहरू तस्करीको खुला केन्द्र बन्दै गएका छन्।
विशेषगरी पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने सिक्टा–भिस्वा नाका तस्करीको मुख्य केन्द्र बनेको छ। शसस्त्र प्रहरी बेस क्याम्प बन्जारी र सिमा प्रहरी चौकी भिस्वा बीचको मिलेमतोका कारण यो धन्दा झनै मौलाएको छ। स्थानीय स्रोतका अनुसार, वीरगंजबाट खरिद गरिएको स्क्र्याप (कबाड) रातको समयमा दर्जनौं ट्रेक्टरमा लोड गरी भारत तर्फ तस्करी भइरहेको छ।
स्रोतका अनुसार, प्रहरीको प्रत्यक्ष सहयोगमा ट्रेक्टरहरू भिस्वाबाट सिक्टा बजार हुँदै भारतीय सीमा पार गरिन्छ। यसक्रममा सिमा प्रहरी चौकी भिस्वाका वरिष्ठ प्रहरी नायव निरीक्षक संजिव तामाङ लाई मासिक लाखौं रकम बुझाई तस्करी सहज बनाइएको आरोप छ।
कबाडसँगै अहिले नेपाली मकै को पनि ठूलो मात्रामा भारत तर्फ तस्करी भइरहेको छ।
त्यसैगरी प्रहरी चौकी प्रसौनीभाट्टाका ईन्चार्ज वरिष्ठ प्रहरी नायव निरिक्षक गौरब सिहले पनि तस्करहरु संग साठगाठ गरी तस्करी धन्दालाई निरन्तरता दिएका छन । प्रसौनी–भाट्टा नाका तर्फबाट समेत ट्रेक्टरमार्फत मकै ओसार्ने काम नियमित भइरहेको छ।
यस सन्दर्भमा एक गम्भीर प्रश्न उठेको छ—सिमा सुरक्षा गर्ने जिम्मेवारी पाएको शसस्त्र प्रहरी आफैं तस्करीको संरक्षणकर्ता बन्दै गएको हो त ?
शसस्त्र प्रहरीको भूमिका सीमामा अत्यन्तै महत्वपूर्ण र जिम्मेवारीपूर्ण मानिन्छ। तर, केही शसस्त्र प्रहरी कर्मचारीहरू उक्त जिम्मेवारीलाई आफ्नो व्यक्तिगत कमाईको स्रोत बनाउँदै नाकालाई ‘कमाई खाने भाँडो’ मा परिणत गरिरहेको तथ्य बाहिर आउँदा आम नागरिकमा निराशा र आक्रोश बढेको छ।
यस विषयमा शसस्त्र सीमा सुरक्षा बल १३ नं गणका एसपी राधेश्याम धिमाल संग सम्पर्क प्रयास गरिए पनि उहाँले फोन उठाउनुभएन। त्यसैगरी सिमा प्रहरी चौकी भिस्वाका इन्चार्ज संजिव तामाङ सँग समेत सम्पर्क स्थापित हुन सकेन।
स्थानीय बासिन्दा र सचेत नागरिकहरूले यसप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्। अब सम्बन्धित उच्च सुरक्षा निकाय, भन्सार विभाग र गृह मन्त्रालयले यसमा तत्काल हस्तक्षेप गरी दोषी उपर कारबाही र सिमा निगरानीलाई प्रभावकारी बनाउनु आवश्यक देखिन्छ।