
पर्सा, बिरगंज २६ जेठ — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वाटर पर्साको आयोजनामा २१ दिने विपद् व्यवस्थापन तालिमको औपचारिक शुभारम्भ गरिएको छ। सो तालिममा विशेष रूपमा बिरगंज महानगरपालिकाका विपद् व्यवस्थापनमा संलग्न कर्मचारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, तथा सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै मेयर सिंहले विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो तालिमले विपद्को बेला समन्वय, तयारी र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
यस तालिममार्फत सहभागीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान, व्यवहारिक अभ्यास, तत्कालीन उद्धार रणनीति तथा समन्वयात्मक उपायहरूमा दक्षता प्रदान गरिने सशस्त्र प्रहरी बलका अधिकारीहरूले जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बलको यो प्रयासले स्थानीय तहमा आपतकालीन व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।