सिमरा श्रावण ५
बाराको सिमरा स्थित हुलास स्टिल इन्डष्ट्रिज र जगदम्बा स्टिल इन्डष्ट्रिजमा शनिवार अपरान्ह आगलागी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित हुलास स्टिलको जस्तापाता उत्पादन गर्ने प्लान्टमा आगलागी भएको हो । शनिवार अपरान्ह सवा ५ बजे भएको आगलागीबाट हुलासको जस्तापाता उत्पादन गर्ने मेशिनमा क्षती पुगेको छ । अागलागी नियन्त्रण गर्न गएको सशस्त्र प्रहरी बलको १७४ जनाको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले २ वटा दमकलको सहयोगमा बेलुका ६:५५ बजे आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट अन्दाजी १ अर्ब २० करोड बराबरको क्षती भएको अनुमान उद्योग प्रशासनले गरेको छ । यद्दपी क्षतीको यकिन विवरण आइसकेको छैन । विद्युत शर्ट भएर आगो लागेको अनुमान उद्योग प्रशासनले गरेको छ । तर आगलागीको कारण खुल्न नसकेको सशस्त्र प्रहरी बल रूद्र बाहिनी पथलैयाका डिअाईजी कबिन्द्रमान श्रेष्ठले बताए । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिल इन्डष्ट्रिजमा शनिवार अपरान्ह भएको आगलागीबाट उद्योगको वायर प्लान्टमा क्षती पुगेको छ । उद्योगका प्रशासकिय अधिकृत कुमुद ढकालका अनुसार वायर प्लान्ट नजिक रहेको डिजल ट्याँकीमा आगो लाग्दा वायर प्लान्टमा समेत क्षती पुगेको हो । क्षतिको यकिन विवरण नआएपनि उद्योग प्रशासनले करिब २० देखि २५ लाख बराबरको क्षती भएको जनाएको छ । हुलास स्टिलमा लागेको आगो जीतपुरसिमरा उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले करिब डेढ घण्टापछि नियन्त्रणमा लिएको थियोे । यस्तै जगदम्बा स्टिलमा लागेको आगो वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । दुबै उद्योगमा करिब एकै समयमा आगो लागेपछि आगो नियन्त्रणमा खटिने उद्दारकर्मी र बारुणयन्त्रलाई समेत समस्या परेको थियो । आगो नियन्त्रणमा सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय सिमराका सुरक्षाकर्मीहरु खटिएको सशस्त्र प्रहरी बल रूद्र बाहिनी पथलैयाका डिअाईजी कबिन्द्रमान श्रेष्ठले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times