बीरगंज ९ असोज ।
बीरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्राले महानगरपालिकाबाट आफूले पाउने तलब भत्ता वापतको सुविधा बाट सडक निर्माण गर्नु भएको छ । १० महिनाको अवधिमा आफूले २ लाख ६६ हजार रुपैया महानगरपालिकाबाट तलब भत्ता वापत पाएको र सो रकमबाट महानगरपालिकाको वडा नम्बर २६ स्थित अठराहा टोलमा रहेको श्रीलाल साहको घर देखि असिम मियाँको घर सम्म पुग्नेबाटो माटो पुरी ग्राभेल गर्ने काम गरेको बताउनु भयो । महानगरपालिकाको विकास बजेट नभई सो बजेट आफनो तलब भत्ता बापतको रकम रहेको र आफूले महानगरपालिकाबाट पाउने तलब भत्ता व्यक्तिगत प्रयोग नगर्ने प्रतिबद्धता समेत वडा अध्यक्ष मिश्रले व्यक्त गर्नु भयो । उहाँले जनताको हितका लागि आफूले तलब भत्ता विकास निर्माणमा लगाएको जानकारी दिनुभयो । जनप्रतिनिधिहरुले विकास बजेटमा कमिशनका लागि भागबण्डा खोजि रहेको बेला वडा अध्यक्ष मिश्रले आफुले पाएको तलब भत्ता समेत वडाको विकासमा खर्च गर्नुले वीरगंज महानगरपालिकामा ठूलो चर्चा पाएको छ ।