बिरगंज १४ चैत्र ।
प्रदेश २ मा आज भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना प्राप्त भएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उहाँले बताउनभयो । २१ गते सबै विषयको परीक्षा सकिने र त्यसपछि प्रदेश २ मा पुनः विज्ञान विषयको परीक्षा हुने समय तालिका तोकिएको उहाँले बताउनुभयो । बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न ४ सदस्यीय टोली गठन गरेको छ । बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ । प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए । सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट विज्ञान विषयको प्रश्न पत्र आउट भएपछि परीक्षा रद्ध भएको हो । हिजो राति नै सामाजिक सञ्जालमा प्रश्न पत्र आउट भएको देखिएपनि अनुसन्धानको क्रममा आज बिहान प्रश्नपत्र सामाजिक संजालमा सार्वजनिक भएको सरकारी अधिकारीहरुले निष्कर्ष निकालेका थिए । परीक्षार्थीले भने आउट भएको सोही प्रश्नपत्रबाट आजको परीक्षा दिएका थिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले भने सप्तरीबाट नभई अरु जिल्लाबाट प्रश्न पत्र आउट भएको दावी गरेका छन । अर्कोतर्फ शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमाथि आर्थिक चलखेल गरेर प्रश्न पत्र आउट गरेको आरोप लागेपनि कार्यालयका प्रमुख शंकर लुइँटेलले भने आरोप अस्वीकार गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय