बिरगंज १७ चैत्र । आइतबार साँझ एक्कासि आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरिबहादुर पालले मध्यरातसम्म बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको जानकारी दिये ।

बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा २५ जनाको मृत्यु भएको छ भने वीरगञ्ज-१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ।

‘कहीँ पर्खाल ढलेको छ, कहीँ धेरै घर भत्केका छन्, कहीँ छानो उडाएको छ,’ डिआइजी पालले सेतोपाटीसँग भने, ‘हावाहुरी तीब्र गतिमा थियो, तर बारा–पर्सामा मात्र। यो घटनामा ४०० बढी घाइते छन्। घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको पालले जानकारी दिए।

घाइतेमध्ये नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एड्भान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

बारा प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्छ।घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको कलैया, वीरगञ्ज अस्पतालका साथै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। अधिकांशको घर र छानाले च्यापिएर मृत्यु भएको छ, डिएसपी राठौरले भने।

घाइतेहरूको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। संघीय प्रहरी इकाई कार्यालय धनुषाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला, बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई र पर्साका उपरीक्षक रेवती ढकालसहित सशस्त्र प्रहरीसमेतको टोली घटनास्थलमा खटिएको छ।

‘छिमेकी जिल्ला धनुषा र रौतहटतिर भने हावाहुरीले कुनै प्रभाव पारेको जानकारीमा आएको छैन,’ पालले भने। उनका अनुसार घाइतेहरूको तथ्यांक यकिन भइसकेको छैन। ठूलो संख्यामा हताहती भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहानबाट उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको आफ्नो ट्वीटरबाट जानकारी गराएका छन्। मौसमले साथ दिए तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ, उनले भनेका छन्, सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन म सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु। न्युज-साभार-सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय