बीरगंज २९ जेठ ।
स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैया सहित आज बाराबाट एक भारतिय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्लाका वृजकिशोर कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । उनलाई शंकास्पद रुपमा ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट पक्राउ गरिएको भट्टराईले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बी.आर. ए.सी. ४४८६ नम्बरको भारतिय मोटरसाइकलमा सवार वृजकिशोरले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र मोटरसाइकलको डिक्कीमा समेत लुकाएको अवस्थामा पैसा बरामद गरिएको प्रहरी उपरिक्षक भट्टराईले बताउनुभयो ।ठुलो परिमाणमा शंकास्पद रकम सहित पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आजै सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको भट्टराईले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times