वीरगन्ज : वीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा शुक्रबार साँझ बम विस्फोट हुँदा एक महिलासहित दुईजना घाइते भएका छन् ।

कागती बेच्ने खुद्रा व्यापारी भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगन्जको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सवा ७ बजेतिर तरकारी बजारमा मान्छेहरुको भीडभाडका बीच सुतली बम विस्फोट गराइएको थियो । वडाध्यक्ष जगत साह कानुका अनुसार मिठुले बेच्न राखेको कागतीको क्यारेट (प्लाष्टिकको टोकरी) मुनि राखिएको सुतली बम पड्किएको थियो ।विस्फाेटमा घाइते सीता गिरी ।

बम पड्किएको स्थानमा सुतलीका टुक्रा र जलेको बारुदको गन्ध भेटिएको वडाध्यक्ष कानुले बताए । नारायणी अस्पतालमा उपचार गराइरहेका घाइते कम्कडले पनि कागतीको क्यारेट मुनि कसैले राखेको सुतली बम विस्फोट हुँदा आफू घाइते भएको बताए ।

‘म कागती बेच्न व्यस्त थिएँ, अचानक क्यारेट मुनिबाट विस्फोट भयो । विस्फोट भएपछि मेरो हात र खुटटामा घाउ लागेको छ । बम कसले र कति बेला राख्यो मलाइ नै थाहै भएन,’ मिठुले बताए । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने प्रारम्भिक अनुसन्धानका क्रममा बम नभइ माल्टा बारुद भन्ने पटाका पड्कीएको बताए ।by annapurnapost

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय