बिरगंज ६ जेठ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १२ स्थित श्री सुरजी देवी माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
समृद्ध नेपाल फाउन्डेशन द्वारा आयोजित उक्त शिविरमा २८० जनाले आँखा परीक्षण गराएका थिए। शिविरमा सहभागीहरूलाई निःशुल्क रूपमा आवश्यक औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष ताहिर अहमदले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
स्थानीयवासीहरूले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन्।








