वीरगञ्ज, ६ बैशाख ।
वीरगञ्ज महानगरपालिकाले बाइपास क्षेत्रको सडक विस्तार कार्यलाई तीव्रता दिन सम्बन्धित क्षेत्रमा रहेका घर–टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार वडा नं. १२ र १३ (साबिक वडा नं. १५ र १६) अन्तर्गत पर्ने बाइपास क्षेत्रमा नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगञ्जदेखि मुरली चोकसम्म सडक विस्तार गरिँदैछ। सो क्रममा सडकको केन्द्रबाट दायाँ–बायाँ ५/५ मिटर गरी कुल १० मिटर चौडाइ कायम गरिने उल्लेख गरिएको छ।
यसअघि केही भागमा निर्माण कार्य सम्पन्न भइसकेको भए पनि बाँकी क्षेत्रमा रहेका संरचनाका कारण काम अवरुद्ध हुँदै आएको जनाइएको छ। त्यसैले अब सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्रभित्र पर्ने घर तथा अन्य संरचना सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र, अर्थात् सोमबार दिउँसो ३ बजेसम्म खाली गर्न महानगरले आग्रह गरेको छ।
समयसीमाभित्र स्वयं हटाउन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय