बीरगंज २६ साउन ।
गर्मीसँगै पटक पटक विद्युत लाईन काटिएपछि वीरगंजसँगै वारा, पर्साका स्थानिय वासिन्दाहरु आक्रोशित भएका छन् । प्राधिकरणले नेपाललाई लोड सेडिङ्ग मुक्त भनेर घोषणा गरेको दुई बर्ष वितेपनि वीरगंज तथा वारा, पर्सामा २४ घण्टामा ८ घण्टा भन्दा बढी पटक पटक गरेर लाईन काटिने गरेको स्थानिय वासिन्दाले बताएका छन् । गर्मीको समयमा पटक पटक लाईन काटिदा समस्या भएको वीरगंज ५ निवासी सन्तोष खनालले बताउनु भयो । प्राधिकरणको लापरवाहीको कारण समस्या भएको खनालले बताउनु भयो । यता विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख मुनेन्द्र ठाकुरले गर्मीको कारण वीरगंज लगायत वारा, पर्सामा क्षमता भन्दा बढी विद्युतको माग भएको र ओभरलोड हुँदा ट्रान्सफर्मरले धान्न नसक्दा पटक पटक लाईन जाने गरेको बताउनु भयो । ठाकुरले हाल वीरगंज नगर क्षेत्र भित्र २२ वटा ट्रान्सफर्मर थप्ने काम भई रहेको बताउदै १७ वटाको काम सकिएको र ५ वटा ट्रान्सफर्मर जडानको काम बाँकी रहेको बताउनु भयो । दिनको समयमा ट्रान्सफर्मर जडान गर्न २÷३ घण्टा लाईन काटिने गरेको ठाकुरले जानकारी दिनुभयो । आगामी १५ दिन भित्र ट्रान्सफर्मर जडान कार्य सम्पन्न हुने र त्यसपछि वीरगंजमा पटक पटक लाईन जाने समस्या समाधान हुने प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख ठाकुरले दावी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय