राम कुशवाहा
वीरगन्ज १३ असोज ।
दुई महिना पहिला बारा र पर्सामा विभिन्न मालबाहक सवारी साधनहरु संग अवैध रकम असुली गरेर विवादमा आएका ट्राफिक प्रहरी प्रदेश २ का कार्यालय पथलैया र जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पुन अवैध असुलीको चर्चाले गर्दा विवादमा आएका छन ।
वीरगन्ज भंसार, ड्राईपोर्ट(सुख्खाबन्दरगाहा) र एकिकृत चेकजाँच चौकी (आईसीपी) बाट निस्केको मालबाहक सवारी साधनहरुलाई अनावश्यक झमेला खडा गरेर जबरजस्ती अवैध असुली गरीरहेको भेटिएको छ ।
वीरगन्ज भंसार, ड्राईपोर्ट(सुख्खाबन्दरगाहा) र एकिकृत चेकजाँच चौकी (आईसीपी) बाट निस्केको मालबाहक सवारी साधनहरुलाई ओभर लोडको बहानामा सवारी चालक तथा सवारी धनीलाई नै धम्काएर अवैध असुली गरीरहेका छन ।
ओभर लोड गरेका एकवटा सवारी साधनबाट पर्सा देखि बारा संग गरेर तीन ठाउँमा चेकजाँचको नाममा अवैध असुली भईरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्जले ड्राईपोर्ट चण्डाल चौकमा खडा गरेको ट्राफिक युनिट मार्फत र परवानीपुर स्थित ट्राफिक युनिट मार्फत अवैध असुली गर्ने काम भई रहेको छ ।
वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा ट्राफिक प्रहरी पथलैयाको टोलीले सिमरा र विभिन्न स्थानमा चेकप्वाईन्ट खडा गरेर सवारी चालकहरुलाई अनावश्यक दुख दिएर ओभर लोड सवारी साधनको नाममा अवैध असुली गरीरहेका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्जका प्रहरी निरिक्षक राजकुमार सिंहको आदेशमा ड्राईपोर्ट चण्डाल चौकमा ट्राफिक प्रहरी युनिटमा ट्राफिक प्रहरी नायब निरिक्षक दिलिप यादव र परवानीपुर ट्राफिक प्रहरी युनिटमा प्रहरी नायब निरिक्षक करण बहादुर चुनुरा मार्फत अवैध असुली गर्ने काम भईरहेको छ ।
प्रत्येक मालबाहक सवारी साधनबाट ओभर लोडको बहानामा ३ हजार रुपैया उठाउँने गरेका छन । जसमध्ये १५ सय रुपैयाको राजश्व रसिद काट्ने गरेको एकजना चालकले नाम नछाप्ने सर्तमा बताए । ट्राफिक प्रहरी प्रदेश २ पथलैयाका प्रहरी उपरिक्षक योगबहादुर पालले समेत आफनो प्रहरी अधिकृतलाई नै खटाएर अवैध असुली गराईरहेको भेटिएको छ ।
भारतीय माल बाहक सवारी साधनहरु संग भने धम्काएर रकम असुल्ने गरेका छन । एकजना भारतीय चालकले भन्ने, कहिले अनरबुक, कहिले ईन्स्योरेन्स त कहिले ओभरलोडको बहानामा रकम माग्ने गरेका छन । दिन् नमानेपछि अनाश्वयक झमेला खडा गरेर एकदिन गाडीनै आफनो नियन्त्रणमा राख्ने गर्छन ।
भारतीय मालबाहक संग ५ सय भारु देखि १ हजार सम्म अवैध असुल्ने गरेका छन । वीरगन्ज भंसार, ड्राईपोर्ट(सुख्खाबन्दरगाहा) र एकिकृत चेकजाँच चौकी (आईसीपी) बाट भारतीय र नेपाली गरी करिब ५ सयको हाराहारीमा मालबाहक सवारी साधनहरु छुट्ने गरेका छन ।
१ हजारकै दरले उठाएपनि ट्राफिक प्रहरीले दैनिक ५ लाख रुपैया अवैध असुली गर्ने गरेका छन । डिउटीमा खटेका एकजना ट्राफिक प्रहरीको भागमा मासिक २ देखि ३ लाख रुपैया पर्ने गरेको एकजना ट्राफिक प्रहरीले नाम नछाप्ने सर्तमा बताए । अधिकृत स्तरका ट्राफिक प्रहरीलाई भने ७ देखि १० लाख सम्म भाग लाग्ने गरेको छ ।
बाँकी रहेको रकम प्रहरी निरिक्षक राजकुमार सिंह र ट्राफिक प्रहरी उपरिक्षक योग बहादुर पालले आफूमा भाग लगाउँने गरेका छन । दुईमहिना अगाडी विभिन्न संचारमाध्यमा ट्राफिक प्रहरीको अवैध असुली गरेको प्रमाणित भएपछि एकजना प्रहरी निरिक्षक सहित चार जनालाई डिआईजी कार्यालयले कारवाही गरेको थियो ।
ट्राफिक प्रहरी निरिक्षक सिंहलाई डिआईजी प्रद्युमन कार्कीले एकपल्टको लागि नसिहत दिई आईन्दा यस्तो गल्ती दोहोरिए कडा कारवाही गरिने चेतावनी समेत दिएर छाडेका थिए । तर प्रहरी निरिक्षक सिंहले दशै शुरु भए लगतै डिआईजी कार्कीको निर्देशनलाई लत्याउँदै अवैध असुली गर्न आफनो विश्वासिलो प्रहरी अधिकृतलाई विभिन्न ट्राफिक प्रहरी युनिटमा खटाई अवैध असुली गराई रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय