वीरगंज २१ असोज ।
पोखरिया नगरपालिकामा एक बालकको हत्या गरी पोखरीमा फालेको अवस्थामा शव फेला परेको छ । पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया निवासी महमद गनी अन्सारीको १५ वर्षिय छोरा मेराज भन्ने अब्दुल्लाह अन्सारीको हत्या गरि फालिएको अवस्थामा हिजो सांझ पोखरीमा शव फेला परेको हो । आईतबार दिंउसो घरबाट तरकारी किन्न बजार निस्किएका अंसारीको हिजो सांझ साढे ५ बजे पोखरीमा मारेर फालेको अवस्थामा शव फेला परेको मृतकका परिवारजनले जनाएका छन । मृतकका बुवा महम्मद गनी अंसारी पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारको पुर्व निजि सचिव समेत रहेका थिए । हाल विद्यालयका शिक्षक समेत रहेका अंसारीको छोराको रहस्यमय रुपमा हत्या हुनुमा व्यक्तिगत रिसवी, तथा राजनैतिक कारण समेत हुन सक्ने पोखरिया नगरपालिकाका प्रमुख रौनियारले बताउनुभयो । मृतकको शरीरभरी निलडाम, एउटा आंखामा गहिरो चोट लागेको, नाकबाट रगत समेत आएको अवस्थामा शव बरामद हुनुले बालकको हत्यागरी पोखरिमा फालेको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन । जिल्ला उच्चांगल मावि पोखरियामा कक्षा ९ मा अध्ययनरत अंसारीको हत्याको घटनालाई लिएर पोखरियाको सतवरिया गांउमा आज विजयादशमी पर्व समेत खल्लो भएको छ भने गांउ नै शोकमगन भएको छ । घरबाट बेपता भएको २४ घण्टा भन्दा बढी समयमा मृतक बालकको शव गांउकै एक पोखरीमा फेला पर्नुले बालकको अपहरणपछि हत्या गरी पोखरीमा फालेको हुन सक्ने अनुमान गरिएको छ । बालकलाई घरबाट कसले बोलायो र उनी कहां गए भन्ने सम्बन्धमा सुक्षम अनुसन्धान तथा कल डिटेल्सको आधारमा समेत अपराधि नजिक प्रहरी पुग्ने स्थानीयले दाबी गरेका छन । बालकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा ल्याईएको र गांउबाट ठुलो संख्यामा स्थानीय बासिन्दा वीरगन्ज आएपछि पोष्टमार्टम गर्न समेत अस्पतालका चिकित्सकहरुले आनाकानी गरेका थिए । पछि पोष्टमार्टम रिपोर्टलाई स्विकार्ने पिडीत पक्षले प्रतिबद्धता जनाएपछि मात्रै पोष्टमार्टम भएको थियो । पोष्टमार्टमपछि प्रहरीले मृतक बालकको शव आफन्तको जिम्मा लगाएको छ ।
यसअघि पनि सतवरिया टोलमा ३ वटा हत्याका घटना भईसकेको र घटनामा संलग्न अपराधिहरु उम्कदै आएको हुंदा यो घटनापछि स्थानीय बासिन्दा आक्रोशित भएका छन । घटना रहस्यमय भएको हुंदा अनुसन्धानका लागि विज्ञ सहितको बिशेष टोली खटिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।
यसैगरी वीरगन्ज राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्या भएको २ वर्ष बितिसक्दा पनि पर्सा प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै गरेका राजन २०७३ असोज १९ गते बेपत्ता भएका थिए । उनको शव त्यसको भोलिपल्ट वीरगन्ज चिनी मिल आवास क्षेत्रपछाडि फेला परेको थियो । राजनको हत्या किन र कसले गरयो भनी प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन । आफू बेलाबेलामा जिल्ला प्रहरी कार्यालय धाइरहेपनि २ वर्षदेखि आश्वासनबाहेक केही नपाएको राजनका बुवा विनोद पटेलले गुनासो गर्नुभयो । जिल्ला प्रहरी प्रमुख परिवर्तन भएपिच्छे आफूले प्रहरी अधिकारीहरूलाई घटनाबारे गम्भीर भई अनुसन्धान गरी हत्यारालाई पक्राउ गर्न आग्रह गर्दै आएको पटेलले बताउनुभयो । २ वर्ष बितिसक्दा पनि आफ्नो भतिजोको हत्यारा प्रहरीले पहिचान गर्न नसक्नु दुखद भएको राजनका काका वृजकिशोर पटेलले गुनासो गर्नुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times