बीरगंज २६ माघ ।
वारा, पर्सा, रौतहट लगायतका मध्यतराईका जिल्लाहरुमा बाल विवाह अन्त्यका लागि चलाईएका अभियान प्रभावकारी हुन नसक्दा बालविवाह गर्ने क्रम रोकिएको छैन । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी नभएको तथ्यांकले देखाएको छ । राष्ट्रिय बालअधिकारसँग सम्बन्धित विभिन्न संस्थाहरुले गरेको अध्ययन अनुसार वारा, पर्सा, रौतहटमा विगत १ बर्ष यता ३० भन्दा बढी बालविवाहका घटना भएका छन् । पहँुच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका बालिका विच २० वटा तथा ७ वटा बालिकाको विवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको तथ्यांकमा देखिएको छ । बालविवाह भएकामध्ये आफूखुशी वा भागी विवाह १५ वटा, अभिभावकद्वारा १२, सामाजिक सञ्जाल र फेसबुक दुरुपयोगका कारण उमेर नपुग्दै समेत केहीको बालविवाह भएको छ । बालविवाह गरेका केही जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाई गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ । विगत एक महिना यता पर्सामा भएका २ वटा बालविवाहका घटनामा प्रहरीले हस्तक्षेप गरी वालविवाह रद्द गरेको छ । विगत ४ दिन अगाडी बालबिबाह गरेको भन्दै अभिभावकसहित बेहुला राजकुमार प्रसाद कुशवाहा र बेहुली १५ बर्षिय सोनम कुमारी कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । समाजमा रहेका बाल बिवाह, दाईजो प्रथा, बहुबिवाह तथा लैंगिङ्क हिंसा लागायतका अपराध न्यूनिकरण गर्न प्रहरी, प्रशासन र स्थानीय तह जिल्लामा सक्रिय भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो । तराईका जिल्लाहरुमा महिला तथा बालबालिका हिंसाको घटना, बलात्कार जस्ता जघन्य अपराध तथा दाईजो प्रथा र बालविवाह जस्ता कुरितीहरु कायम रहेको हुँदा यसलाई नियन्त्रण गर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय सँग सहकार्य गर्दै प्रहरी अगाडी बढने प्रहरी उपरिक्षक पन्तले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times