राजविराज, ९ फागुन । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका लागि राजविराज जेसीजले शुक्रबार श्रद्धालु भक्तजनलाई दुध, बेलपत्र र फूल वितरण गरेको छ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई विहानैदेखि जेसीजका पदाधिकारीहरुले शिवलाई मनपर्ने बेलपत्र, दुध र पुष्प वितरण गरेका हुन् । विहानैदेखि करिब एक हजार जनालाई गंगाजलमिश्रित दुध, बेलपत्र र पुष्प वितरण गरिसकिएको जेसीजले जनाएको छ । विहानैदेखि घुइँचो लागेको हरिनन्देश्वर महादेव दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन जेसीजले स्वयमसेवकको भूमिका समेत निर्वाह गरेको छ । राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा सम्पूर्ण पदाधिकारी सहभागी कार्यक्रममा पूर्व अध्यक्षहरु शंकर शारदा, मिलन सिंहसहित पूर्व पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । दर्शनार्थीहरुका लागि सामुदायिक प्रहरी सेवा केन्द्रले सहायता कक्ष सञ्चालन गरेको छ । साँझ मन्दिर परिसरमा धुनी बाल्ने र विभिन्न भजनसहितको सांस्कृतिक प्रस्तुतिको कार्यक्रमको तयारी भइरहेको छ ।
जिल्लाका विभिन्न महादेव मन्दिरहरुमा पर्वको रातभर जाग्राम बसेर शिवधुनी गरिने र विभिन्न प्रहरको पूजाका अतिरिक्त भजन नाचगान गर्ने कार्यक्रम रहेको छ । बिहानै सप्तकोशी नदीमा पवित्र जल भरेर काँवरियाहरुले विभिन्न महादेव मन्दिरहरुमा जल रिसाल गरेका छन् । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि सप्तरीको शम्भुनाथ, लालेश्वरनाथ, भजनेश्वरनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times