बीरगंज ४ चैत्र ।
कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सीमा जोडिएको मितेरी पुल नजिकै स्थापना गरिएको हेल्थ डेस्क नाम मात्रैको रहेको छ । त्यहाँ खटिने स्वास्थ्यकर्मी तालिमविनै परिचालन गरिएको र हेल्थ डेस्कमा थर्मामिटर बाहेक अन्य उपकरण नभएको भेटिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कदेखि कोरोना परीक्षणका लागि आवश्यक पर्ने सामग्री र बस्ने स्थानको समेतको अभाव रहेको छ । विगत ३ साता देखि बीरगंज रक्सौल मुख्य नाका शंकराचार्य गेट अगाडी सञ्चालनमा आएको हेल्प डेस्क सडकमै स्थापना गरिएको हो । भाइरसको रोकथामको ज्ञान र जोखिम न्यूनीकरणका उपकरणविना स्वास्थ्यकर्मी र दुवै देशका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । खुला सीमाका कारण नेपाल–भारत सीमा हुँदै हजारौं स्थानीय ओहोरदोहोर गर्ने गर्दछन् । सीमा नजिक रहेको बिहार तथा भारतको अन्य क्षेत्रबाट आएका यात्रुहरुलाई दुई जना स्वास्थ्यकर्मीको भरमा सामान्य सोधपुछ गर्न पनि भ्याई नभ्याई छ । यस्तो अवस्थामा सिमा क्षेत्रबाट विरामी भित्रिने सम्भावना अधिक रहेको छ । स्थानिय प्रशासन तथा सरकारले सिमा क्षेत्रमा प्रविधि सहितको स्वास्थ्य टोली परिचालन गर्नु पर्नेमा हेलचक्रयाई गरिएको भन्दै यात्रुहरु आक्रोशित देखिन्छन । हेल्थ डेस्कमा वीरगंज महानगरपालिकाको स्वास्थ्य समन्वय शाखाले दैनिक २ जना स्वास्थ्यकर्मी खटाएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उनीहरू खटिने गरेका छन । त्यसपछि प्रहरीको भरमा हेल्थ डेस्क रहने गरेको छ । राति सीमा बन्द गर्ने गरिएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले आवश्यक पर्ने कुनै सामग्री नपाएको गुनासो गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times