बीरगंज ९ चैत्र ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको थप संक्रमणको जोखिम न्युनीकरण गर्न मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंज रक्सौल नाकामा नेपाली सेना र सशस्त्र प्रहरीको थप चिकित्सक सहितको टोली परिचालन गरिएको छ । भारतबाट नेपाल फर्कने यात्रुहरुको भिड थामि नसक्नु भएपछि नेपाली सेना, सशस्त्र? प्रहरी, नेपाल प्रहरी र नारायणी अस्पतालका स्वास्थ्यकर्मी सहितको टोलीले रक्सौल हुदै फर्कने नेपाली तथा भारतीय नागरिकहरुको स्वास्थ्य परिक्षण गर्दै आएको छ । टोलीले ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएका विरामीहरुलाई नारायणी अस्पतालमा पठाउने गरेको छ । सिमा क्षेत्रमा परिक्षणको क्रममा आज दिउँसो सम्म ज्वरो, रुघाखोकीका एक दर्जन भन्दा बढी विरामीहरु नेपाल भित्रिए पनि उनिहरुको थप स्वास्थ्य परिक्षण सहित प्रारम्भिक उपचार नारायणी अस्पतालमा गर्दा सामान्य भाईरल फिबरका विरामी भएको प्रमाणित भएपछि उनिहरुलाई परिक्षण पछि छाडिएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो । वीरगंज रक्सौल नाकाबाट आज विहान देखि अपरान्ह २ बजे सम्म झण्डै २० हजार भन्दा बढी भारतबाट नेपाल भित्रिनेहरुको सिमा क्षेत्रमा स्वास्थ्य परिक्षण गरिएको नेपाली सेनाले जनाएको छ । सरकारले सिमा नाकामा उच्च सतकर्ता सहित स्वास्थ्य परिक्षण गरेर मात्र आवत जावत गर्न दिएको निर्देशन अनुसार स्वास्थ्यकर्मी र नेपाली सेना सहितको टोली परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताउनुभयो । यता नारायणी अस्पतालमा ५ बेडको आईसोलेशन वार्डलाई थप व्यवस्थित बनाउने काम भई रहेको र महानगरपालिकाको सहयोगमा ७२ घण्टा भित्र वीरगंजमा ५० बेड क्षमताको क्वारेन्टाईन स्थापना गर्ने कार्य भई रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो । सिमा क्षेत्रमा नेपाल आउनेहरुको भिड थामि नसक्नु भएको हुँदा यसलाई व्यवस्थित गर्न ५÷६ जना स्वास्थ्य कर्मी सहितको टोली परिचालन गर्नु पर्ने र भिडलाई व्यवस्थित गर्न आवश्यक संयन्त्रको खाँचो रहेको रक्सौलबाट वीरगंज आउँदै गरेका वीरगंज १६ निवासी शम्भु थापाले बताउनु भयो । भारतमा कोरोना भाईरसकको संक्रमण फैलदो क्रममा रहेपछि बीरगंज नाकाबाट नेपाल भित्रिनेहरुको लर्को लागेको छ । त्यसैगरी नेपालबाट भारत जानेहरुको संख्यामा गिरावट आएको भए पनि रक्सौलमा समेत भारतीय सुरक्षाकर्मी तथा चिकित्सक सहितको टोलीले नेपालबाट जाने यात्रुहरुलाई लाईनमा लगाएर स्वास्थ्य परिक्षण गराएर मात्र भारत प्रवेशको अनुमति दिने गरेका छन् । पर्साको वीरगंज नाकामा उच्च सुरक्षा सतकर्ता अपनाईएको भए पनि पर्साका अन्य ग्रामिण नाकाहरुबाट नेपाल भित्रिने भारतीय तथा नेपालीहरुको संख्या उच्च रहेको यस तर्फ समेत सम्बन्धित निकायलाई स्वास्थ्य परिक्षण तथा सुरक्षा सतकर्तामा ध्यान दिन निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times