बीरगंज ।
नेपाल विद्युत प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म सम्म निरन्तरता दिएको छ । सरकारले लक डाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । अब गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड(१९)का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महशुल तथा विलम्बवापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । सञ्चालक समितिले लकडाउन अवधि थपिएमा सोहीअनुसार जरिवाना छुटको निर्णय गर्न कार्यकारी निर्देशकलाई अधिकार दिएको थियो । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सुरु गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय