वीरगञ्ज, १५ असोज । नक्कली प्रहरी इन्स्पेक्टर बनेर लोक सेवा आयोगको फर्जी परिक्षा सञ्चालन गराई रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित चौधरी टोल बस्ने अजय कुमार राय रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट प्रहरी नायव निरीक्षक बैद्यनाथ दासको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित देव पार्टी प्यालेसमा प्रहरीको विभिन्न पदको नक्कली परिक्षा सञ्चालन गराई रहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहारीले बुधबार दिउँसो पार्टी प्यालेसमा छापा मार्दा यादव केहि व्यक्तिहरुको सहयोगमा प्रहरी निरीक्षकको वर्दी लगाएर परिक्षा सञ्चालन गराई रहेको प्रहरीले जनाएको छ ।
यादवले पर्सा, बारा र सर्लाहीका २ महिलासहित २१ जनालाई प्रहरीको विभिन्न पदका लागि परिक्षामा सहभागी गराई मोटो रकम समेत असुलेका छन् । उनले परिक्षामा सहभागी भएकाहरुसँग एक हजारदेखि ३५ हजारसम्म असुलेको प्रहरीले जनाएको छ ।
परिक्षामा पास गराई जागिर लगाई दिन्छु भनेर यादवले उनीहरुसँग एक लाख पचास हजार रुपैयाँ माग गरेका थिए । उनले परिक्षा फारम भर्न सबैबाट जनही एक हजार र कुल रकमको केहि भाग परिक्षा पुर्व नै उपलब्ध गराउन भने अनुसार ११ जनाले उनलाई एक हजारदेखि ३५ हजारसम्म दिएको जिल्ला प्रहारी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।
यादवले लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको फर्जी लिखित परिक्षा सञ्चालन गरिरहेका थिए ।
विगत ९ महिनादेखि नक्कली इन्स्पेक्टर बनेर यादव प्रहरी चौकी परवानीपुर र इलाका प्रहरी कार्यालय नगवामा समेत पुग्ने गरेको डिएसपी कुँवरले बताए । प्रहरीलाई प्रलोभनमा पार्न उनले देव पार्टी प्यालेसका सञ्चालक रवी चौरसियाको हातबाट एक थान कम्प्युटरपनि सहयोग गराएका थिए । त्यसैगरी उनले प्रहरी चौकी परवानीपुरबाट विभिन्न समयमा प्रहरीको गाडी प्रयोग गरेको समेत खुलेको छ ।
यादवले आफ्नो गाउँको दुई जना छिमेकीलाई समेत ठगेको खुलेको छ । उनले छिमेकमा बस्ने दुई जना महिलालाई पनि जागिर लगाई दिने प्रलोभन देखाएर परिक्षामा सहभागी गराएका थिए ।
प्रहरीले देव पार्टी प्यालेसबाट प्रहरी सहायक निरीक्षकको दुई थान प्रवेश पत्र थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको २१ थान प्रवेश पत्र, २६ थान प्रश्न पत्र, खरिदारको एक थान प्रवश पत्रपनि बरमाद गरेको डिएसपी कुँवरले जानकारी दिए ।
पार्टी प्यालेसबाट प्रहरीले परिक्षा सञ्चालन गराई रहेको अवस्थामा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २१ वर्षीय रवी कुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले थप पक्राउ पारिएकाहरुको संलग्नता बारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका यादवले सबै योजना आफुले एक्लै बनाएको दावी गरेका छन् । उनले पक्राउ परेका अन्यहरुलाई पनि झुटो बोलि फसाएको बयान दिएको प्रहरीले जनाएको छ ।
यादव यसअघि पनि २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते गर्ने मुद्दामा वीरगञ्ज कारागार भित्र १ सय १० दिन सजाय काटिसकेका छन् ।