बिरगंज, कात्तिक ११ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी पर्साले प्रहरी कार्यालय अगाडि मंगलबार पनि प्रदर्शन गरेको छ ।

प्रहरीले हालसम्म जाहेरी नलिएपछि मंगलबार पाँचौं दिन पनि चौरसियाका परिवार र नेकपा पर्साले जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका हुन् ।

उनीहरुले प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।

घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप उनीहरुले लगाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका ‘मुख्य योजनाकार’ पूर्वसांसद राजकुमार गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

गुप्ताको नाम हटाएमात्र मुद्दाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्थले अडान लिएको उनीहरुको आरोप छ ।

चौरसियाको शव अहिलेपनि ‘पोस्टमार्टम’का लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।

गएको बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय