बीरगंज १७ मंसिर ।
नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले कोरोना संक्रमणलाई बहाना बनाएर लामो समय देखि आवत जावत बन्द रहेको खुला सिमा तत्काल खोल्नु पर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतले नेपाल भारतको खुला सिमा बन्द हुँदा धार्मिक, सांस्कृतिक, पारम्परिक सम्बन्ध सँगै पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेको हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाई बन्द रहेको सिमा खुला गर्नु पर्ने कुरामा जोड दिनुभयो । कांग्रेस नेता डा. महतले जनतासँग राष्ट्रियताको ठूलो कुरा गर्ने ओली सरकारले भारत र चीन तर्फ मिचिएको सिमाना तथा नक्साका बारेमा बोल्न नसक्नु जनतालाई झुक्याउनु बाहेकको कुनै तुक नभएको टिप्पणी गर्नु भयो । उहाँले वर्तमान सरकार कोरोना संक्रमण नियन्त्रणमा समेत असफल भएको र भ्रष्टाचार, अनियमिततामा डुबेको कारण सरकारले जनपक्षिय काम गर्न नसकेको समेत आरोप लगाउनु भयो । काँग्रेसका सह–महामन्त्रि डा. महतले विदेशहरुको भनसुन भन्दा आप्mनै स्वविवेकले पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी नेताहरुलाई सुझाव दिदै पार्टी भित्रको विवादमा विदेशीहरुले खेलेको भुमिकाले नेपालमा विदेशीहरुको चलखेल बढने खतरा देखिएकोमा चिन्ता प्रकट गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्व मन्त्री एवं कांग्रेस नेता सुरेन्द्र चौधरी, जनाद्र्धन सिंह क्षेत्री, प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रामनारायण कुर्मी, इम्तियाज आलम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय