बीरगंज २८ पुस ।
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखेको आरोप लगाउनु भएको छ । संघीय प्रेस फोरम पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको बताउनु भयो । ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो कब्जामा लिएर तानाशाह बन्ने रहेको यादवको भनाइ थियो । उहाँले ओलीले बैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा गर्दै संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न प्रधानमन्त्री ओलीले चुनावको प्रोपोगण्डा ल्याएको बताउनु भयो । अदालतबाट संसद पुर्नस्थापनाको निर्णय सदर भएर बैशाखमा चुनाव भएको खण्डमा उक्त चुनावमा जसपाले भाग लिने वा नलिने भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष यादवले कुनै टिप्पणी गर्नु भएन । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीले नेपाललाई विदेशी शक्तिहरुको चलखेल गर्ने खेल मैदान बनाउने वातावरण बनाइ दिएको आरोप लगाउनु भयो । उहाँले ओलीको असंवैधानिक कदमले देशभित्रकै प्रतिगमनकारी शक्तिहरुको अघोषित साँठगाँठ रहेकाले अहिले लोकतन्त्र खतरामा परेको बताउनु भयो । लोकतन्त्र , गणतन्त्र र संघीयताको रक्षाका लागि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एकजुट भएर प्रतिगमनकारी कदमलाई खारेज गराउनु नै आजको आवश्यकता रहेको कुरामा यादवले जोड दिनु भयो । उहाले नेपाली काँग्रेस पनि अन्तत लोकतन्त्रकै पक्षमा उभिने दावी गर्नु भयो । संघीय प्रेस फोरम पर्साका अध्यक्ष आर के पटेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपाका कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सुनिल रोहित, विघटित प्रतिनिधिसभाका सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनीयार, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको पनि उपस्थिती थियो । कार्यक्रमलाई संघिय प्रेस फोरम पर्साका उपाध्यक्ष श्याम कुशवाहाले संचालन गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times