वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ अखवा टोला बस्ने रामेश्वर पंजियारको घरबाट २६ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
पंजियारले आफ्नो घरमा गाँजा लुकाईछिपाई राखेको सूचना प्राप्त गरेपछि प्रहरीले उनको घरमा छापामारी गरेरे गाँजा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
पंजियारले आफ्नो घरमा जुटको बोरा भित्र दुई वटा हरियो प्लाष्टिकको डब्बामा लुकाएर गाँजा राखेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डिएसपी प्रह्लाद कार्कीले बताएका छन् ।
डिएसपी कार्कीका अनुसार पंजियारको घरबाट प्रहरीले गाँजा च्याप्ने मेसिन एक थान, २ सय ग्रामको ढक एक थान, १ सय ग्रामको ढक १ थान, ५० ग्रामको ढक एक थान र तुलो एक थान पनि बरमाद गरेको छ ।
प्रहरीले गाँजा बरामद गरेपनि घरमुली पंजियार फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको डिएसपी कार्कीले जानकारी दिए ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर लागूऔषध सम्बन्धि कसुर मुद्दामा अनुसन्धान अगाडी बढाइएको कार्कीले बताए ।