वीरगन्ज, १२ वैशाख । पर्सा प्रहरीले दुई थान स्वचालित पेस्तोलसहित हातहतियार र लागूऔषधको कारोबारमा संलग्‍न गिरोहलाई पक्राउ गरेको छ ।

हातहतियार र लागूऔषध बरामद भएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा नबुझाइ लुकाएर राखेको आरोपमा एक प्रहरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

गत बुधबार भारतको सीमावर्ती रक्सौल बजारबाट वीरगन्जतर्फ आउने क्रममा शंकराचार्य गेट नजिकै प्रहरीले चेक गर्दा मकवानपुरको मनहरी गाउँपालिका– ५ बस्ने २५ वर्षीय राजु राना मगरको साथबाट ‘सनमाइका’ लेखेको स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान म्याग्जिन बरामद भएको थियो ।

एसपी पाण्डेका अनुसार प्रहरीको अनुसन्धानमा मगर विगत ८/९ वर्ष अगाडिदेखि लागूऔषध दुर्व्यसनी रहेको र पछिल्लो ५ वर्षदेखि भारतको रक्सौलबाट लागूऔषध खरिद गरी काठमाडौं उपत्यकाका विभिन्‍न स्थानमा लागूऔषधका कारोबारीहरुलाई बिक्री गर्दै आएका थिए ।

‘मगर पक्राउ परेको करिब २० दिन अगाडि काठमाडौं बस्ने अर्का लागूऔषध कारोबारी राम प्रजापतिसँग मिलेर पेस्तोल खरिद गर्ने सल्लाह गरेका रहेछन्,’ एसपी पाण्डेले भने, ‘त्यसबेला रक्सौल आई मुमताज भन्ने व्यक्तिलाई दुईवटा पेस्तोलको एक लाख ५० हजार रुपैयाँमा मोलमोलाई गरी एक लाख रुपैयाँ पेश्की समेत दिएका रहेछन् ।’

वैशाख ८ मा मगर र प्रजापति वीरगन्जको बसपार्कमा पुगेर लागूऔषध कारोबारमा पहिलेका सहयोगी लालबाबु सिंहलाई लिएर रक्सौल गएका थिए । त्यहाँ उनीहरुले एक सय सेट इन्जेक्सन, १२ सय पिस नेट्राभेट ट्याब्लेट र एक्सट्रा म्याग्जिनसहितको ‘सनमाइका’ लेखेको स्वाचालित पेस्तोल लिई कुँवर सिंहको अटो रिक्सामा बसेर वीरगन्ज बसर्पाकमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए ।

‘त्यसपछि लालबाबु सिंहले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश प्रसाद यादवसहित रोशन सिंह र नन्दन सिंहसँग मिली पेस्तोल र लागू औषध लुटपाट गर्ने योजना बनाए,’ एसपी पाण्डेले भने, ‘योजना बमोजिम त्यही दिन दिउँसो ४ बजेको समयमा दुवै जना कोठा नम्बर १०५ मा प्रवेश गरी लागूऔषध, पेस्तोल, म्याग्जिन, मोबाइल सेट र राम प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा र ७ हजार रुपैयाँ नगद लुटेका थिए ।’ उक्त समयमा श्यामबाबु कुशवाहा र अरविन्द गुप्तालाई प्रहरीको निगरानी गर्न गेस्ट हाउस बाहिर खटाएका थिए ।

एउटा पेस्तोल लुटिएपछि मगर दोस्रो पेस्तोल लिन त्यही दिन रक्सौल पुगेका थिए । दोस्रो पेस्तोल र म्याग्जिन लिएर पैदलै वीरगन्ज प्रवेश गर्ने क्रममा नाकामा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा मगरको साथबाट पेस्तोल र म्याग्जिन बरामद गरेको थियो ।

प्रहरीका अनुसार मगर पक्राउ परेपछि थालिएको अनुसन्धानले हातहतियार र लागूऔषध लुटपाट भएको खुलासा भएको हो । लुटिएको हातहतियार रोशन सिंहले वीरगन्ज महानगरपालिका– १५ स्थित आफ्नो घरदेखि पूर्वपट्टि करिब सय मिटरको दूरिमा रहेको सूर्योदयनगर चोकको दक्षिणपट्टि रहेको झाडीमा लुकाएको अवस्थामा फेला परेको एसपी पाण्डेले जनाए ।

‘पेस्तोलको एक्सट्रा म्याग्जिन प्रहरी जवान अवधेश यादवको वीरगन्ज महानगरपालिका– १३ स्थित डेराकोठाभित्रको खाटको बिछ्यौना मुनिबाट बरामद भएको हो,’ उनले भने, ‘लुटिएका लागूऔषध प्रहरी जवान यादवले वीरगन्ज महानगरपालिका– १३ स्थित सिर्सिया खोलाको छेउमा रहेको नर्कटको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद भएको छ ।’ सुनका मुन्द्राहरु लालबाबु सिंहको दाहिने जुत्ताको तलुवाभित्रबाट बरामद भएको छ ।

प्रहरीले मगरसहित प्रहरी जवान अवधेश यादव, वीरगन्ज मुर्ली निवासी लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्द गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहलाई नियन्त्रणमा लिएको छ ।

‘पक्राउ परेका व्यक्तिहरु पहिलेदेखि नै लागूऔषध बेचबिखन, लुटपाट लगायतका आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएको छ,’ एसपी पाण्डेले भने, ‘उनीहरुमाथि लागूऔषध, हातहतियार तथा संगठित अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय