वीरगंज २ साउन । भारतका कुख्यात मानिने नटवरलाललाई पनि मात गर्न सक्ने हैसियत राखेका बहुदरमाई नगरपालिका वडा नं.३ का अजित मियाँ हजामका छोरा ३७ वर्षिय सलिम मियाँ हजाम यतिखेर जग्गा सम्बन्धी मुद्दा बाहेक लागु औषध खैरो हिरोईनमा मुच्छिएका छन् । गत बैशाख ५ गते रक्सौलबाट उक्त लागु औषध बोकी ल्याउदाँ घण्टाघर नजिकै प्रहरीको चेकजाँचमा उनको पाईन्टको गोजीबाट प्रहरीले ब्राउनसुगर बरामद गरेर अनुसन्धानहरु गरी नीज सलिमलाई सजायको माग दावी गर्दै गएको शुक्रवार साउन १ गते जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको छ ।
यिनै सलिम मियाँलाई पर्सा जिल्ला अदालतले सरकारी कागज किर्ते मुद्दामा किर्ते कागज गरेको ठहर गर्दै नीज मियाँलाई माननीय जिल्ला न्यायधीश धर्मराज पौडेलले असार १० गते एक वर्ष को कैद सजाय सुनाउनु भएको छ । सलिम र उनका ससुरा ईस्माईल मियाँले मुर्ली प्रसाद कायस्तको नाममा पर्सा गविस वर्वागोग वडा नं.७ मा रहेको कि.नं. २८० को क्षेत्रफल २ धुर ८ कनवा र ऐ. किता नं. २८२ को क्षेत्रफल १४ कठठा जग्गाहरु पर्सा जिल्ला अदालतबाट ०६७।१।७ गतेमा पास भएको अधिकृत वारेशनामामा ससुरा ज्वाँईहरु एक आपसमा मिली ससुरा ईस्माईल मियाँसंग रहेको अर्काे अधिकृत वारेशनामामा आफू खुशी ‘खरिद, विक्री हक हस्तान्तरण तथा भन्ने वाक्यांस थपी सरकारी कागज किर्ते गरी उक्त जग्गाहरु मिती ०६७।८।१२ मा मालपोत कार्यालय पर्साबाट र.नं. १०१६ ख बाट पारित गराएका थिए । सोही किर्ते कागजमा सलिम मियाँ तथा उनको ससुरो माथि ०७६।८।२ मा जाहिरी पर्दा सलिम मियाँ अनुसन्धानको क्रममा उतीखेर पनि केही रात प्रहरी हिरासतमा कटाएका थिए ।
विभिन्न काण्डमा नटवरलालको पगरी गुथेका सलिम मियाँले हालैमा अदालतले गरेको एक वर्षको कैद फैसला नकटाउदै उनीमाथि पर्सा प्रहरीले थप अर्काे लागु औषध खैरो हेरोईनमा लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४(घ)(ङ)र (च) बमोजिमको कसुरमा ऐ. दफा १४ (१) (छ)(१) बमोजिम सजायको माङ्ग दावी गरी पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सम्भव त भोली ३ गते पुरपक्षको लागि हुने बहसमा बाहिरी शक्तिले न्यायलयको ठहरमा चलखेल गरेन भने नीज सलिम मियाँलाई प्रहरीको माङ्ग दाबी अनुसार थप ५ वर्ष देखि १० वर्ष सम्म कैद र जरिवाना हुन सक्ने कानून व्यवसायीहरुले सम्भावना व्यक्त गरेका छन् ।