बीरगंज १५ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साले आजबाट चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले नेपालीको महान चाड बडा दशैँ, तिहार र छठ लगायतका चाडबाडको समयमा आम सर्बसाधरणले चाडपर्व हर्ष र उल्लासमय रुपमा मनाउने वातावरण सृजना गर्न आजबाट विशेष सुरक्षा योजना लागु गरिएको बताउनु भयो । चाडवाडको समयमा सर्वसाधारण पर्वमा व्यस्त रहदा आपराधिक मनोबृत्तीका मानिस सकृय रहने र स्वभाविक रुपमा आपराधिक कृयाकलापमा बृद्धि हुने सम्भाब्यतालाई दृष्टिगत गरी शान्त र सुरक्षित बातावरणमा जिल्लाबासिले चाडपर्व मनाउन पाउने अवस्थाको सुनिश्चित गर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना बनाई आजबाट कार्यान्वयनमा ल्याईएको प्रहरी उपरीक्षक पाण्डेले दावी गर्नुभयो । विशेष सुरक्षा योजना अन्तरगत एकिकृत रुपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिने जनाईएको छ । विशेष सुरक्षा योजना अन्तरगत नगर क्षेत्र तथा सिमा नाकामा चेक प्वाईन्ट बढाइएको बताउँदै प्रहरी उपरीक्षक पाण्डेले दसैँ, तिहारमा लामो समयसम्म बिदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षालाई समेत ध्यानमा राखी सादा पोशाकमा विशेष टोली परिचालन गरिएको समेत पाण्डेले बताउनु भयो । सुरक्षा योजना अन्तरगत कोरोना संक्रमणलाई समेत ध्यानमा राखि उच्च स्वास्थ्य सतर्कता अपनाउदै शक्तिपिठ तथा मन्दिरहरुमा पुजा आराधना गर्ने , चाडवाडमा हुने कालाबजारी नियन्त्रण गर्ने, खुला सिमाको दुरुपयोग गरि विष्फोटक पदार्थ पटका आयातमा प्रतिबन्ध लगाउने, बजारमा हुन सक्ने भिडभाड र ट्राफिक व्यवस्थापनलाई भरपर्दो बनाउने र सर्वसाधारणलाई भय रहित तरिकाले चाडपर्व मनाउने वातावरण सृजना गरिने प्रहरी उपरीक्षक पाण्डेले बताउनु भयो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनाल, प्रहलाद कार्की लगायत पर्साका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय