वीरगन्ज– पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगन्ज महानगरपालिका २१ ताजपुर टोलमा नवनिर्मित धर्मशाला तथा विवाह भवनको शनिबार उद्घाटन गरेका छन् । यादवको संसदीय विकास कोषको ३२ लाख रुपैयाँ लागतमा उक्त धर्मशाला निर्माण गरिएको हो । गाउँको चेली बेटीको विवाह गर्दा जन्तीलाई धर्मशालामा व्यवस्थित तरिकाले राख्न मिल्ने भएपछि ताजपुरवासी हर्सित छन् । यसअघि धर्मशाला नहुँदा टोलमा जन्ती आउँदा खरियान वा सडक किनारमा टेन्ट टाँगेर राख्नुपर्ने बाध्यता रहेको थियो । केही गाउँलेले कृषि फारममा अनुरोध गरेर भएपनि जन्तीको व्यवस्थापन गर्दै आएका थिए ।
सांसद यादवको संसदीय विकास कोषको रकमले निर्माण भएको धर्मशालामा जन्तीलाई व्यवस्थित रुपले राख्न सकिने उपभोक्ता समितिका अध्यक्ष इनरदेव महतोले बताए । धर्मशाला उद्घाटन कार्यक्रममा सांसद यादवले समाजमा जकडिएर रहेको दाइजो प्रथाको अन्त्यका लागि हामीले सबैले आफ्नैबाट सुरुवात गर्न आह्वान गरेका थिए । ‘समाजमा दिनप्रतिदिन गरिबी बढ्दो छ, आम्दानीको स्रोत कम छ,’ उनले भने, ‘दाइजो प्रथाले झन गरिबी बढाएको छ ।’ उनले विवाहमा पनि बढी तामझाम नगरी विधि पुर्‍याउने हिसाबले विवाह जस्ता पारिवारिक तथा सामाजिक परम्परा सम्पन्न गर्न अनुरोध गरेका थिए । धर्मशाला सञ्चालनका लागि संरक्षण समिति गठन गरिएको छ । उद्घाटन कार्यक्रममा इकाई अध्यक्ष निरन्जन पटेल, जिल्ला सदस्य तथा वडाधयक्ष प्रत्याशी राधाकृष्ण रौनियार, अरुण महतो, भोज महतो कृशवाहा लगायत सयौँ ताजपुरवासीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय