बिरगंज ।
स्व.गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट यो बर्ष थाहाखबरका पर्सा सम्बाददाता तुलसी भण्डारी नगद सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाले ‘२०७८ को’ पुरस्कार शनिबार थाहाखबरकर्मी भण्डारीलाई प्रदान गरेको हो ।
कोरोनाको कारण रोकिएको २०७७ सालको पुरस्कार पनि शनिबार स्थानीय प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई एकसाथ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा तत्कालिन वीरगन्ज उप–महानगरपालिकाका नगरप्रमुख स्व.गिरीको नाममा स्थापित क्रियाशिल पत्रकारीता पुरस्कारबाट महासंघ पर्सा शाखाले १७ बर्ष अगाडी स्थापना गरेको थियो । पर्साका क्रियाशिल पत्रकारहरु मध्ये हरेक बर्ष एक जना क्रियाशिल पत्रकारलाई २५ हजार नगद सहित सम्मान गर्दै आएको छ । महासंघ पर्सा शाखाको पुस दोस्रो हप्तामा बसेको बैठकले २०७७ सालको पुरस्कार श्रेष्ठ र २०७८ को पुरस्कार भण्डारीलाई प्रदान गर्ने निर्णय पहिले नै गरिसकेको थियो । पत्रकारद्वय भण्डारी र श्रेष्ठलाई जनही २५ हजार नगद सहित सम्मान गरिएको छ ।
महासंघको सह्रानीय कदम ः नगरप्रमुख सरावगी
पत्रकारद्वयलाई सम्मान गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पत्रकार महासंघले यो पटक सहि पत्रकारहरुको छनौट गरेको बताए । स्व. गिरीको स्मरणमा महासंघले गरेको कार्यलाई पनि महानगर प्रमुख सरावगीले सह्रानीय कदम भएको तर्क गरे । पूर्व नगरप्रमुख समेत रहेका स्व. गिरीको स्मरणमा महानगले पनि प्रतिमा राख्ने अठोट गरेको र ठाउँको पहिचान भइसकेको पनि नगरप्रमुख सरावगीले बताए ।
निष्ठा र निडर पत्रकारिताका लागि दुवै दविएर पछाडी परेका पारिएका साच्चै योग्य व्यक्तिलाई पर्सा महासंघले यो पटक सम्मान गरेकोमा पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जाराले महासंघलाई पनि बधाई दिए । पर्सा महासंघका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दाशले पर्सा महासंघले समाचार र संचारगृहसँग जोडिनु वाहेक अरु पेसा नभएका योग्य व्यवसायीक पत्रकारलाई दिएको सम्मानमा कुनै संगठनको खोल ओढाइनु तर्कसंगत नभएको बताए ।
अकारण तत्कालिन माओवादीले हत्या गरेका स्व. गिरीको परिवारले अझै चित्त बुझ्दो जवाफ नपाइरहेको वर्तमानमा निष्ठाको पत्रकारीताका लागि स्व.गिरी पर्साको अध्यक्ष भएकै समयमा नेपाल पत्रकार महासंघको वीरगन्ज भेलाले नेपाल पत्रकार महासंघको आचार संहिता बनाएको कार्यक्रममा चर्चा गरिएको छ ।
स्व. गिरी बारे समिक्षा हुन आवश्यक
समाज रुपान्तरणको दीर्घकालिन सोच र अठोटका साथ काम गर्ने स्व.गिरी तत्काल नगरप्रमुख भएकै समयमा हत्या भएकोले वीरगन्ज महानगरले उनको स्मृतिमा एउटा प्रतिष्ठान स्थापना गरी उनको विचारलाई जिवन्त राख्नु पर्ने प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले पनि बताए । उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले पनि व्यवसायिक पत्रकारहरुको सम्मानसँगै अब वीरगन्जको पत्रकारिता अझ खोजमुलक दिशातर्फ जाने संकेत भएको तर्क गरे । यस्ता कार्यक्रमबाट नीजि क्षेत्र निकै खुशी भएको उनले बताए ।
दुईदशक लामो समयदेखि रेडियो, टिभी, छापा हुँदै अहिले अनलाईनका समाचार उत्पादन गर्दै आइरहेका भण्डारी र रेडियो, छापा र अनलाईनमा नै आबद्ध श्रेष्ठ दुवै सकृय र अनुभवी पत्रकारलाई महासंघले छनौट गरी सम्मान गर्नु राम्रो कदम भएको कार्यक्रममा सहभागीहरुको तर्क छ ।
बुबाको जिवन्तताका लागि बहस आवश्यक ः सुपुत्र गिरिश
स्व. गिरीको जेष्ठ सुपुत्र गिरिश महासंंघले आफ्ना बुबालाई हरेक बर्ष सम्झने काम गरेको छ । अझ उहाँका राम्रा र नराम्रा पनि कुरा भए अझ बहस गर्न सके त्यसले मात्र आफ्ना अभिभावकको जिवन्तता हुने बताए । महात्मा गान्धीको पनि जिवन्तता उनले गरेका कामको बहसले मात्र गरेको उदाहरण दिंदै नेपालका राम्रा पत्रकार मध्येका गिरिशले वीरगन्जले अझै स्वं गिरीको बहस गरिनु पर्ने सुझाव दिए ।
गिरीको हत्या प्रकरण
स्व. गिरीलाई २०६० साल माघ १ गते अध्याधिक बाक्लो हुस्सु लागेको समयमा वीरगन्ज १४ साविकको वीरगन्ज १७ बहुअरीमा बोलाई तत्कालिन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका थिए । गोली हानी हत्या गर्नुको चित्तबुझ्दो कारण अहिलेसम्म पनि पीडित परिवारले थाहा पाउन सकेको छैन । बाहिरी हल्ला भने चन्दा नदिएको भन्ने खुलेको छ । हरेक व्यक्तिसँग तुरुन्त घुलमिल हुन सक्ने मिजासिला स्व.गिरी सो समयमा वीरगन्ज महानगरपालिकाको नगरप्रमुख थिए ।
विगत १७ बर्ष अगाडीबाट स्व. गिरीको स्मृतिमा स्थापित पुरस्कारबाट पर्साका पत्रकारहरु मध्ये शत्रुघ्न नेपाल, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, महेशचन्द्र गौतम र राससका तत्कालिन नारायणी प्रतिनीधि शितल महतो लगायतका पत्रकारहरु सम्मानित भइसकेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times