बिरगंज ७ साउन ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन गर्नुभएको छ ।
निकुञ्जसँगै मन्त्री यादवले माडी क्षेत्रमा भइरहेका बिकास निर्माणका कामहरुको स्थलगत अवलोकन पनि गर्नुभएको हो । माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गरेर काम अघि बढाउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गर्नुभएको छ ।
पर्यावरणलाई सन्तुलीत राखेर बिकास निर्माणका काम गर्नुपर्नेमा मन्त्री यादवको जोड छ । हुलाकी सडक र बनको बिचमा पटकपटक उत्पन्न हुने विवादको स्थायी समाधानका लागि केही दिनभित्रै काठमाण्डौमा सर्वपक्षिय बैठक आह्वान गर्ने र पर्यावरणीय सन्तुलनलाई नबिगारी बिकास गर्ने बारे निस्कर्ष निकाल्ने मन्त्री यादवको भनाई छ । उहाँले भन्नुभयो, “बिकास आवश्यक छ तर बिकासको नाममा बिनाश पनि भइरहेको छ । तसर्थ हामीले बनजंगल र बन्य जन्तुलाई कुनै असर नपर्ने गरी बिकास गर्नुपर्छ ।”
मन्त्री यादवले चितवन राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकनपश्चात निकुञ्जको कार्यालयमा गएर निकुञ्जले गरेका गतिविधि एवम् त्याहाँका समस्याका सम्बन्धमा छलफल गर्नुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक हरि बहादुर आचार्यले निकुञ्जको बारेमा मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो । निकुञ्जमा देखिएका समस्याको बारेमा अन्य सम्बन्धित निकाय र विभागहरुसँग छलफल गरेर समाधान गर्ने मन्त्री यादवले आश्वासन पनि दिनुभएको छ । बन्यजन्तु तथा काठ चोरीको घटनालाई कम गर्न प्रविधिको जडान गर्ने मन्त्री यादवको भनाई छ । साथै मन्त्री यादवले वनजंगल एवम् वन्यजन्तुको सुरक्षामा नेपाली सेनाले खेलेको भूमिकाको पनि सह्राना गर्नुभयो । नेपालको सून्दरता नै वनजंगल तथा वातावरण भएको हुँदा यो प्राकृतिले दिएको सून्दरतालाई संरक्षण एवम् संवद्र्धन गर्ने सबैको दायित्व भएको उहाँले बताउनुभयो । निकुञ्जलाई व्यवस्थित बनाउन तथा बन्यजन्तु एवम् बन जंगलको संरक्षणका लागि कार्यविधि परिवर्तन गर्नुपरेपनि गर्न सकिने मन्त्री यादवको भनाई छ । प्रधानमन्त्रीसँग झगडा गरेर भएपनि वनजंगल र वन्यजन्तुको संरक्षणका लागि बजेट ल्याउने प्रतिबद्धता जनाउँदै उहाँले ठोस योजना ल्याउन महानिर्देशकलाई निर्देशन पनि दिनुभएको छ ।
मन्त्री यादवले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पर्साको पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमकी श्रीमतीसहित अन्य परिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिनुभएको छ । मेडिकल कलेजमै पुगेर मन्त्री यादवले उनीहरुलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको मन्त्री यादवका उपस्वकिय सचिव निखिल वर्णवालले जानकारी दिनुभयो ।
यसअघि भरतपुर बिमानस्थलमा मन्त्री यादवलाई जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल लगायतले स्वागत गरेका थिए ।
मन्त्री यादवसँगै बन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, हुलाकी सडक निर्देशनालयका धर्मेन्द्र कुमार झा लगायतको प्रतिनिधीमण्डलले निकुञ्जसँगै माडी क्षेत्रको अवलोकन गरेको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times