बिरगंज १३ । पर्सामा एकजना युवतीको शव जगलमा शकास्पद अवस्थामा जलाइ रहेको अवस्था प्रहरीले अर्ध जलेको शव आफ्नो नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, सेढवा र पटेर्वासुगौलीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत जय माँ जगदम्बे सामुदायिक वनबाट बिहीवार जलेको अवस्थामा शव बरामद गरेको हो ।
बरामद शव जीराभवानी गाउँपालिका–१ भवानीपुर निवासी खेमराज दासकी १७ वर्षीया छोरी सीमा कुमारीको पुष्टि भएको छ ।
सीमाको शव वसन्तपुर सबडिभिजन वन कार्यालयभन्दा पाँच सय मिटर उत्तर घना जङ्गलबाट बरामद भएको हो । गएराति शव जलाइएको प्रहरीले अनुमान गरेको छ ।
बरामद शवको घुँडा, हाड र मासु जल्न बाँकी रहेको प्रहरीले जानकारी गराएको छ । शव जलाउन पेट्रोल, सिमेन्टको बोरा तथा चिनी प्रयोग गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सीमाका बुबा फरार छन् भने आमा श्रीकान्ति देवीलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको छ । स्थानीयले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन् ।
स्थानीय एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेको र सोही कारणबाट हत्या गरी आत्महत्याको कारण देखाउन खोजिएको गाउँमा चर्चा छ । सीमाकी आमाले भने सीमालाई छारेरोग भएको बताएकी छन् ।
पक्राउ परेकी सीमाकी आमालाई थप अनुसन्धामको लागि जिल्ला प्रहरी कार्यालय वीरगन्जमा ल्याइएको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी प्रहलाद कार्कीले बताए ।
प्रारम्भिक अनुसन्धानमा सीमाको हत्या गरिएको देखिए पनि प्रहरीले शल्यपरीक्षण रिपोर्टपछि तथ्य कुरा बाहिरिने डिएसपी कार्कीले बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।सीमाको एकजना युवकसँग रहेको प्रेम सम्बन्धका कारण घरमा केही दिनदेखि विवाद बढ्दै आएको स्थानीयले बताएका छन् ।