वीरगञ्ज, भदौ ८ । महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र सेस्मी एकेडेमीको संयुक्त आयोजनामा क्यान्सर पिडित परिवारलाई सहयोगार्थ तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्जको भिषुवा होटलमा सम्पन्न तीज विशेष कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सलमा खातुनको अध्यक्षता तथा नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी रम्भा मिश्राको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय महिलाहरुले परम्परागत संगिनी नृत्यका साथै तीज सम्बन्धि प्रतियोगिता र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए ।
सोहि कार्यक्रममा क्यान्सर रोगबाट मृत्यु भएका वीरगञ्ज ३ निवासी भोला क्षेत्रीको परिवारलाई रु. ३१ हजार नगद सहयोग गरिएको थियो भने निजका दुईजना छोरीहरुको विद्यालय देखि कलेजसम्मको शैक्षिक शुल्कमा सेस्मी ईन्टरनेशनल स्कुल र आयरा एकेडेमी वीरगञ्जले सहयोग गर्ने सेस्मी ईन्टरनेशनल स्कुल वीरगञ्जकी संचालिका एवं लायन्स क्लब ईन्टरनेशनलकी रिजन चेयरपर्सन लायन आश्मा सिंह यादवले बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ प्रसुती रोग विशेषज्ञ लायन डा. लक्ष्मी थापा, होटल कैलाशकी संचालिका एवं वरिष्ठ समाजसेवी मन्जरी श्रेष्ठ, वरिष्ठ समाजसेवी चन्चला दास, वरिष्ठ डायटिसियन डा. निशा सिंह, नेपाली कांग्रेसकी नेतृ एवं प्राध्यापक डा. सुस्मा तिवारी द्विवेदी, नेपाली कांग्रेसकी नेतृ एवं शैलजा आचार्य फाउण्डेशन पर्साकी अध्यक्ष रुपा श्रेष्ठ, मातेश्वरी ट्राभल्सकी संचालिका दिपिका कार्की, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, वरिष्ठ ब्युटिसियन सपना सिंह, ओम कुमारी शर्मा, उमी गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा लायन्स क्लब ईन्टरनेशनलकी डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन मिना देवी टिबडेवाल र डिष्ट्रक्ट डिपार्टमेन्ट चिफ लायन विजय कुशवाहालाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान-पत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी कोषाध्यक्ष लायन सुशिला साहले गर्नु भएको थियो भने स्वागत मन्तब्य लायन्स क्लब ईन्टरनेशनलकी डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन गुड्डी जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय