वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ स्थायी घर भएका रुपेशमान सिंह यहाँका युवापुस्ताकाबीच परिचित नाम हो । उनी रुपु नामले अझै बढी चर्चित छन् । उनै रुपुले यही मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

पर्साको क्षेत्र नम्बर २(ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका रुपेशमान अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगिरहेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको चुनावी मैदानको कमाण्ड सम्हालेका उनी अहिले आफै विधायकका लागि चुनावमा होमिएका हुन् ।

वीरगञ्जकै सबैभन्दा पुरानो शैक्षिक धरोहर त्रिजुद्ध माविको शैक्षिक गुणस्तर बृद्धि गर्न एक दशकदेखि निरन्तर कृयाशिल उनी विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएका छन् ।

वैश्विक महामारी कोभिडका बेला विपन्न, असहाय तथा अप्ठ्यारोमा परेकाहरुको भोक मेटाउन साहिब दरबार सेवा संस्थानमार्फत निशुल्क भोजन वितरण गर्दै हिँडेका थिए । सहज परिस्थितिमा मात्रै नभई जस्तोसुकै कठीन परिस्थितिमा पनि नागरिकको सेवामा तत्पर उनै रुपु अहिले नागरिककै मत माग्दै घरदैलो पुगिरहेका छन् । उनै रुपेशमान (रुपू) सँग समग्र चुनावी सेरोफेरोमा रहेर हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ यो कुराकानी ।

१) तपाईँको उम्मेद्वारी किन ?

मेरो उम्मेद्वारी दलहरुको दलदल तोड्न । दलहरुले अहिले लगाईरहेको गठबन्धनको सिण्डिकेट तोड्न ।

दलहरुको सिण्डिकेटले आजित भएका मतदाताहरुको भरोसा बन्न मेरो उम्मेद्वारी हो । अहिले पनि मेरो दैनिकी विभिन्न सामाजिक कार्यमै वित्ने गरेको छ । जनताकै काममा मेरो दिनचर्या वितिरहेको छ । मेरो यो उम्मेद्वारी अझै जिम्मेवार भएर जनताको काम गर्न पनि हो ।

अर्को कुरा दलहरुका गतिविधि र उनीहरुका प्रतिनिधिको व्यवहारले आजित भएका मतदाताहरुको माग पनि हो मेरो उम्मेद्वारी । मेरो क्षेत्रका मतदाताको विश्वास र भरोसा हो मेरो उम्मेद्वारी ।

२) दलहरुको सिण्डिकेट तोड्न उम्मेद्वारी हो भन्दै गर्दा उम्मेद्वारी दर्ता गर्नु अघिसम्म त तपाईँ पनि दलकै टिकटका लागि दौडधुपमा हुनुहुन्थ्यो त ?

दौडधुप भन्दा पनि एक किसिमको संवाद थियो । टिकटका लागि दावी थियो । तर जुन तरिकाले उम्मेद्वारी दर्ता गर्नेबेलासम्म आइपुग्दा एक खालको अप्रत्यासित अनि घोर जनविरोधी तत्वसँग मैले आस्था राख्ने पार्टी दुषित गठबन्धनमा मिसियो त्यस पछि भने म दलको दलदलमा र कसैको इसारा र स्वार्थमा रहेर होइन कि स्वतन्त्र भएर जनताको सेवामा संलग्न हुन्छु भनेर स्वतन्त्र उम्मेद्वारीको तयारी गरें र त्यही अनुसार दर्ता गरेर अघि बढेको हो ।

पार्टी प्रति एउटा आस्था राख्ने व्यक्तिले टिकटका लािग दावी गर्नै पाउँदैन भन्ने होइन । हो दावी थियो । तर अप्राकृतिक र नसुहाउँदो गठबन्धनको चक्रव्यूह चल्न थालेपछि त्यो समग्र कुरा छाडेर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको हो ।

३)टिकट पाएको भए दलबाटै उम्मेद्वार बन्नुहुन्थ्यो, टिकट नपाएपछि चाहिं स्वतन्त्र ? होइन मैले दलबाट टिकट नै पाएको भए पनि स्वतन्त्र नै उम्मेद्वारी दिन्थें । मैले अघि पनि भने नि । उम्मेद्वारी दर्ता गर्ने समयसम्म आइपुग्दा जुन खालको अप्राकृतिक र दुषित गठबन्धन भयो त्यो मधेस र मधेसीका लागि अपाच्य हो । मेरो क्षेत्रको मतदाताले पनि त्यही भन्नुभएको भएर नै म स्वतन्त्र उम्मेद्वार बनेको हुँ । होइन पार्टी कै टिकटबाट उम्मेद्वार बन्ने भनेको भए अरु थुप्रै पार्टी थिए नि टिकट दिने त । तर अब होइन, स्वतन्त्र भएरै चुनावमा जानुपर्छ भनेर आम मतदाताहरुसँग छलफल गरेर, उहाँहरुको सुझाव लिएर उम्मेद्वारी दर्ता गराएको हुँ । टिकट पाएर, नपाएर भन्ने कुरै छैन यहाँ ।

४) पार्टीले उम्मेद्वारी फिर्ता लिएन भनेर तपाईँलाई त कारबाही गर्यो नि ।

म आफैँ स्वतन्त्र भएर उम्मेद्वार दिएको मान्छेलाई कारबाहीको के औचित्य रह्यो र । मैले आफैँ दलको दललमा बस्दिन भनेरै त स्वतन्त्र उम्मेद्वारी दिएको हुँ । त्यसैले कारबाहीको औचित्य देख्दिन म ।

४) मतदातालाई कसरी बुझाउनु हुन्छ ? कसरी बुझाई रहनु भएको छ ??

मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेद्वार बनेको हुँ । उहाँहरुले नै मलाई कन्भिन्स गर्नु भएको हो स्वतन्त्रबाटै उम्मेद्वार बन्न । त्यसैले उहाँहरुलाई भन्न, बुझाउन मलाई सजिलो छ । उम्मेद्वारी दर्ता पछि अहिले दिनहुँ घरदैलोमै पुगिरहेको छ । उहाँहरुसँग सरसल्लाह गरिरहेको छु । आफ्ना एजेण्डाहरु राखिरहेको छु । दलहरुलाई त हामीले वर्षौँदेखि हेर्दै आएका हाँै नि । उनीहरुलाई नै अवसर पनि दिँदै आएका हौँ । तर खोइ त हाम्रा समस्याहरु ज्यूँका त्यूँ छन् । दलबाट निर्वाचित भएकाहरु त एउटा चुनावबाट अर्को चुनाव नआउँदासम्म मतदाताले देख्नै नपाउने अवस्था आएको छ । जितेपछि हराउने । चुनाव आएपछि देखा पर्ने खाले प्रवृत्ति छ । अब यो सबै हटाउनु पर्छ । दलको दलदलबाट मुक्त भएर आफ्ना अधिकार प्रयोग गर्दै आफ्नो ठाउँ, क्षेत्र बनाउन र यहाँको आवाज बुलन्द बनाउन सक्ने मान्छे चयन गर्नु पर्छ भनेर भनिरहेका छौँ । मैले मलाई जिताउनुस भनेर भनेको छैन । गर्ने मान्छेलाई जिताउनुहोस् । पहिलेजस्तो जिताएर पठाएकाहरुलाई हेरेर पछुताउने होइन कि जिताएपछि गर्न सक्नेलाई जिताउनुस भनेर बुझाउँदै हिँडेका छौँ । अहिले धेरै मतदाताले बुझि पनि सक्नु भएको छ ।

५) अघि एजेण्डाका कुरा निकालि हाल्नु भो, के छन् त तपाईका एजेण्डाहरु ? के लिएर मतदाताको घरदैलो पुगिरहनु भएको छ त ?

मैले ठूला कुराहरु गरेर मतदातालाई झुक्याउने काम गर्न सक्दिन । जे गर्न सक्छु त्यो मात्रै भन्छु । शिक्षा क्षेत्रको स्तरीकरण मेरो पहिलो प्राथमिकता हो । अहिले पनि यहाँका सामूदायक विद्यालयमा विद्यार्थी बस्ने डेस्क बेन्चको अभाव छ । त्यो भन्दा पहिला भवनकै अभाव छ । त्यो पूर्ति गर्ने गरी काम गर्नु छ ।

सामुदायिक विद्यालयको पठन पाठन गुणस्तरीय बनाउनु पर्ने छ । यस अघि यहाँबाट जितेर गएकाले गेटमा पैसा खर्च गरे । हिँड्ने राम्रो बाटो छैन त्यहाँ चम्किने गेट देखिन्छ । यो त तपाईँ हाम्रो पसिनाबाट छुट्याएर पठाएको करको दुरुपयोग हो नि । पहिला हिँड्ने बाटो बनाऔँ, गुणस्तरीय र निशुल्क शिक्षाका लागि शिक्षालयहरु स्थापना गरौँ, सर्वसुलभ स्वास्थ्य पहुँच बढाऔँ, उत्पादनमुखि कार्यमा लगानी गरौँ, रोजगारी बढाउने काम गरौँ । अनि बल्ल पो गेट लगायतका कुराहरुको आवश्यकता होला । पहिला भोको पेट भर्ने उपाय छैन गेट, द्वार बनाएर देखाउने काम मात्रै भएको छ । यी सबै विक्रीती रोक्न जरुरी छ । त्यसैका लागि नै म आएको हुँ । ६) घरघर पुगिरहेको भन्नु भएको छ, मतदाताको प्रतिकृया कस्तो पाइरहनु भएको छ ?

मैले यस अघि पनि भनें मेरो क्षेत्रका मतदाता एवं अग्रजहरुकै दवाबमा मैले स्वतन्त्र उम्मेद्वारी दिएको हुँ । घरघरमा पुग्दा उहाँहरु साह्रै उत्साहित भएको मैले पाएको छु । अब पार्टी होइन स्वतन्त्र रोजौँ, स्वतन्त्र खोजौँ भनेर मतदाताहरु नै भनिरहनु भएको छ । यसले मलाई पनि उत्साहित बनाएको छ । उहाँहरुले एक प्रकारले विश्वास र भरोसा गर्नु भएको छ । मैले यसअघि गरेका कामको मूल्यांकन उहाँहरुले पक्कै पनि गर्नुहुने छ । मलाई नै विजयी बनाउन उहाँहरु स्वस्फूर्त लाग्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

७) त्यो क्षेत्र बाट त अरु पनि स्वतन्त्र उम्मेद्वार छन् । उनीहरु पनि यसै गरी मतदाताको घरदैलो पुग्दै होलान् । गठबन्धनका उम्मेद्वार पनि छन् । विश्वास कत्तिको छ जित्ने ?

व्यक्तिगत मेरो जित भन्दा पनि मेरो एजेण्डाको जितको कुरा ठूलो हो भन्ने लाग्छ मलाई । अरु स्वतन्त्रको नाममा खोल ओढेर आएकाहरु हुन् । पटक पटक सांसद भएका, मन्त्री बनेकाहरु अहिले स्वतन्त्र भन्दै छिरेका छन् । उनीहरुको बारेमा मतदाताले बुझेका छन् ।

यस अघि जितेरै गएका पनि फेरि आएका छन् । उनको बारेमा पनि मतदाता जानकार नै छन् । त्यसैले त्यति धेरै कठीनाई देख्दिन म । वीरगञ्ज महानगरको १० वटा वडा र बहुदरमाई नगरपालिकाको एउटा वडा पर्छ मेरो क्षेत्रमा । त्यहाँका धेरै जसो मतदाताले मलाई फोनबाट, भेटेर नै सल्लाह सुझावहरु दिइरहनु भएको छ । हौसला दिइरहनु भएको छ । साथ रहने विश्वास दिलाई रहनु भएको छ ।

त्यसैले अरु को–को छन् भन्ने कुराले खासै अर्थ राख्दैन । म स्वभिमान र निस्वार्थ जनताको अगाडी उभिएको छु । त्यसैले जनताले मलाई नै मत दिएर विजयी गराउनुहुने छ भन्ने विश्वास लिएको छु ।

८) तपाईँको काका वीरगञ्ज महानगरको अहिले मेयर हुनुहुन्छ, उहाँको साथ, आशिर्वाद तपाईँलाई रहन्छ कि रहँदैन ?

हो काका महानगरको मेयर हुनुहुन्छ । चुनावमा उहाँले कत्तिको सहयोग गर्नुहुन्छ, हुँदैन त्यो पछिको कुरा हो । अहिले उहाँ पार्टीको आधिकारीक उम्मेद्वारको लविङमा हुनुहुन्छ । मैले त उहाँलाई आग्रह गर्ने हो सहयोगको, उहाँसँग आशिर्वाद माग्ने हो । उहाँले के गर्नु हुन्छ, के गर्नु हुँदैन त्यो उहाँको कुरा हो । उहाँले गर्नु भएन भनेर म पछि हट्ने कुरा पनि त भएन अब । म त अभियानमा होमिई सकेको छु ।

८) अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

पर्सा क्षेत्र नम्बर २(ख) बाट मैले स्वतन्त्र उम्मेद्वारी दिएको छु । मेरो चुनाव चिह्न लालटिन छापमा अमूल्य मत दिएर विजयी बनाउनु हुन सबै मतदाताहरुसमक्ष अनुरोध गर्दछु । तपाईसँगै दुखसुखमा साथ रहेको मान्छेलाई अहिले तपाईको साथको खाँचो छ । मलाई विश्वास छ तपाईँहरुले नै मलाई उम्मेद्वार बनाउनु भयो अब तपाईँहरुले नै विजयी बनाउनका लागि यो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ । चुनाव चिह्न प्राप्त गरेसँगै मतदाताहरुले लालटिन छापमा भोट हाल्न आतुर छौँ भनेर भनिरहनु भएको छ । यसले हौसला र विश्वास बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय