बिरगंज ३० असोज ।

बिरगंज महानगरपालिका वडा न १२, मुर्ली पोखरीस्थित बौद्धिमाइ मन्दिरमा आज परम्परागत डोला यात्रा भव्य रूपमा सम्पन्न भएको छ। मुर्लीको बाबा हरिहरनाथ मन्दिरबाट निस्केको बौद्धिमाइको डोला सातोमाइ र ब्रह्मम बाबाको मन्दिर हुँदै बौद्धिमाइको मन्दिरमा पुगी विशेष पूजा सम्पन्न गरिएको थियो। बौद्धिमाइको डोला यात्रा हरेक वर्ष धार्मिक आस्थाका साथ मनाइने प्रमुख चाडको रूपमा रहेको छ।

यस डोला यात्रामा हजारौं भक्तजनहरूको सहभागिता देखिएको थियो। स्थानीयवासी तथा अन्य क्षेत्रबाट आएका श्रद्धालुहरू मन्दिर पुगेर पूजापाठ गरी बौद्धिमाइको कृपाका लागि आशीर्वाद लिने परम्परा रहेको छ। बाबा हरिहरनाथ मन्दिरबाट सुरु भएको यात्रामा परम्परागत बाजागाजा, नाचगान र विशेष रूपमा सजाइएको डोला सामेल थियो। सातोमाइ र ब्रह्मम बाबाको मन्दिरमा पनि श्रद्धालुहरूले पूजापाठ गरेका थिए।

बौद्धिमाइको मन्दिरमा डोला राखेपछि विशेष पूजा सम्पन्न गरिएको थियो। पूजा सकिएपछि मन्दिरमा बलि चढाउने प्रचलन रहेको छ, जसलाई स्थानीयवासीले परम्परागत रूपमा निरन्तरता दिइरहेका छन्। बलिपछि मन्दिर प्रांगणमा भव्य मेला सुरु गरिएको छ।

मन्दिर सञ्चालक समितिका अनुसार मेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएका छन्। मेलामा कुस्ती प्रतियोगिता, भेडाको लडाइँ, र स्थानीय कलाकारहरूद्वारा प्रस्तुत नृत्यको विशेष व्यवस्था गरिएको छ। कुस्ती प्रतियोगितामा स्थानीय पहलवानहरूको सहभागिता रहेको छ भने भेडाको लडाइँ प्रतियोगिताले मेलामा थप रौनक थपेको छ। मेलामा व्यापारीहरूका स्टलहरू पनि राखिएको छ, जसमा विभिन्न प्रकारका खाद्य सामग्री, खेलौना, र स्थानीय हस्तकलाका सामानहरू बिक्रीमा राखिएका छन्।

बौद्धिमाइको डोला यात्रा र मेला स्थानीय संस्कृति र परम्पराको एक महत्वपूर्ण अंशका रूपमा रहेको छ, जसले स्थानीय समाजलाई धार्मिक आस्था र एकताको सूत्रमा बाँधेर राखेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय