राम कुशवाहा
बिरगंज १ कार्तिक ।
वीरगंजको मुख्य ड्राइपोर्ट चौकमा ट्राफिक प्रहरीद्वारा सवारी साधनहरूसँग अवैध रकम असुलीको क्रम नरोकिने गरी चलिरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतको यो क्षेत्रमा, विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारी साधनहरूलाई अवैध असुलीको केन्द्र बनाइएको छ। स्थानीय व्यापारीदेखि चालकसम्मले प्रहरीको यो अवैध गतिविधिबाट हैरान छन्। गाडीहरूको अनुगमन र जरिवाना गर्नुको सट्टा, प्रहरीहरूले प्रतिगाडी भारतीय २०० देखि ४०० रुपैयाँसम्म अवैध रुपमा उठाउने गरेको खुलेको छ।

सूत्रहरूका अनुसार, ट्राफिक प्रहरीले दैनिक २० हजार देखि ३० हजार रुपैयाँसम्म उठाउने गरेको छ, जसमा केही रकम जिल्ला ट्राफिक कार्यालय पर्सा र मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासम्म पुगोस् भन्ने ठहर गरिएको छ। यसरी सेटिङ मिलाएर उठाइएको रकमले दुवै कार्यालयका उच्च पदस्थ अधिकारीहरूसम्म पुगेको आशंका गरिएको छ।

स्थानीय ट्रक ड्राइभरहरूका अनुसार, ट्राफिक प्रहरी सहायक निरीक्षक राम सहाय यादवको निर्देशनमा दलालहरू मार्फत रकम असुली भइरहेको छ। भारतको प्रतापगढ जिल्ला निवासी एक भारतीय ट्रक ड्राइभरका अनुसार, प्रतिगाडी १,००० रुपैयाँ दलालमार्फत ट्राफिक प्रहरीलाई बुझाइने गरेको छ। यी दलालहरूले ड्राइपोर्टदेखि वीरगंज पथलैया औद्योगिक करिडोरको गन्तव्यसम्मको लागि ट्राफिक सेटिङको जिम्मा लिने गरेका छन्।

आईसीपी (इंटीग्रेटेड चेकपोस्ट) भन्सारबाट दैनिक पाँच सय भन्दा बढी भारतिय मालवाहक गाडीहरू नेपाल भित्रिने गरेका छन्। यी गाडीहरू ड्राइपोर्ट हुँदै पावरहाउस चौकबाट वीरगंज पथलैया औद्योगिक करिडोरको बाटो भएर नेपालको विभिन्न सहरमा जान्छन्। तर, गन्तव्यसम्म पुग्न ट्राफिक प्रहरीको सेटिङमा रकम बुझाउनुपर्ने बाध्यता रहेको छ।

यो अवैध गतिविधि खुलेआम भइरहे पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कुनै चासो देखाएको छैन। प्रहरीकै मिलेमतोमा हुने यो असुली धन्दा रोक्न कुनै कदम चाल्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ। तर, सम्बन्धित निकायहरूबाट हुने उदासीनता भने जनताका लागि अझ ठूलो चिन्ताको विषय बनेको छ।

सार्वजनिक स्थानमा, दिनदहाडै हुने यस्तो अवैध असुलीप्रति प्रहरी प्रशासन मौन बस्नु आश्चर्यजनक मात्रै होइन, खतरनाक पनि हो। जनताले न्याय पाउने आशा कहाँबाट गर्ने जब राज्यको कानुनी संरक्षक नै यस्तो गैरकानूनी काममा लिप्त हुन्छ? अब, यो मुद्दामा कडा छानबिन र दोषीमाथि कारबाहीको माग चुलिंदो छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय