– बारा, बैशाख ४ ।
बारा जिल्लामा पत्रकारिताको आडमा व्यापारि व्यवसायीहरूलाई धाक धम्की दिई रकम असुल गर्दै हिँड्ने व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, पटक–पटक यस्ता गतिविधिहरू भइरहेको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानको क्रममा २०८२ साल बैशाख ४ गते बारा जिल्ला, प्रसौनी गाउँपालिका–३ स्थित गण्डक चोकबाट एक व्यक्तिलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ गरेका व्यक्ति पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० घडिअर्वाका विष्णु सर्राफ रहेको र हाल वडा नं. १६ नगवाटोलमा बसोबास गर्दै आएका थिए। उनले आफूलाई पत्रकार बताउँदै व्यवसायीहरूलाई धाक धम्की दिई रकम असुल गर्ने गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिनुभयो।









