पर्सा, १५ चैत्र ।
पर्सा जिल्लामा श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने आरोपी श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा ले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
पर्सागढी नगरपालिका– ३, बिरुवा टोल बस्ने अन्दाजी ३० वर्षीय विश्वास भन्ने विश्वनाथ सहनीले आफ्नी अन्दाजी २५ वर्षीया श्रीमतीमाथि घरायसी विवादका कारण पूर्व योजना बनाई धारिलो हतियार (दाउ) प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा श्रीमतीको खुट्टा काटी गम्भीर घाइते बनाइ रगतामै छोडेर फरार भएका थिए। घटनापछि स्थानीय र प्रहरीको सहयोगमा घाइते महिलालाई उपचारका लागि एल.एस. न्युरो एण्ड जनरल अस्पताल, परवानीपुर पठाइएको थियो।
प्रारम्भिक अनुसन्धानपछि फरार रहेका आरोपीलाई चैत १३ गते बिहान पर्सागढी नगरपालिका– ३, बिरुवा टोल बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आरोपीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।








