
रक्सौल, पर्सा २५ बैशाख — नेपालबाट भारतको रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा प्रवेश गर्दै गरेका चार जना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुल नजिकै पक्राउ गरेको छ।
पक्राउ परेका ती व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गर्दै आएका छन्। उनीहरूले हिन्दी, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा कुरा गरिरहेका छन्, जसले उनीहरूको गतिविधिमा संलग्नताबारे थप शंका उत्पन्न गराएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।
सुरक्षा निकायका स्रोतहरूका अनुसार ती चिनियाँ नागरिकहरूको सम्बन्ध पाकिस्तानमा रहेको एक व्यक्तिसँग देखिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू पछिल्लो एक हप्तादेखि काठमाडौंमा बसेको र त्यहाँबाट सिधै भारत प्रवेश गर्ने प्रयास गरेको खुलासा भएको छ।
उनीहरूले किन भारत प्रवेश गर्न खोजे भन्ने बारेमा भने केही बोलेका छैनन्। अहिले उनीहरूलाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको छ।
‘अपरेशन सिन्दूर’ पछि भारत–नेपाल सीमामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। एसएसबीले रेड अलर्ट जारी गर्दै सीमामा आवत–जावत गर्ने सबै व्यक्तिहरूको कडाइका साथ परिचयपत्र जाँच गरिरहेको छ।