
पर्सा, बैशाख २८ —
नयाँ कपडा किनिदिने, पैसा दिने जस्ता प्रलोभन देखाई किशोरीलाई भारतको रक्सौलस्थित होटलमा यौन व्यवसायमा लगाउने प्रयासमा संलग्न एक युवतीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न भएको आरोपमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने वर्ष २० की आलिया खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित पक्ष — जसको नाम र ठेगाना गोप्य राखिएको छ — को जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले २०८२ साल बैशाख २७ गते राति २ बजे उक्त युवतीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विवरण अनुसार, आलिया खातुनले विगतमा पनि यस्तै किसिमका घटनाहरूमा संलग्न रही अन्य नाबालिकालाई समेत प्रलोभनमा पारी भारततर्फ लगेको पाइएको छ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कसूर ठहर गर्दै आलिया खातुनमाथि अनुसन्धान थालिएको छ। पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप स्वीकृत लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ भने अन्य सम्भावित संलग्न व्यक्तिहरूको पहिचान र खोजी पनि भइरहेको छ।