
पर्सा, १ जेठ – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई १५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ। प्रहरी चौकी परवानीपुरबाट प्रहरी नायब निरीक्षक आदर्श खतिवडाको कमान्डमा खटिएको टोलीले BR06 CT 0810 नम्बरको FZ मोटरसाइकलमा सवार एक युवकलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा लागुऔषध फेला परेको हो। पक्राउ परेका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा निवासी २२ वर्षीय मुस्तुफा अन्सारी रहेका छन्।
प्रहरीका अनुसार अन्सारीले लगाएको सर्टको दाहिने खल्तीमा तीनवटा प्लास्टिकको पुरियामा राखिएको १५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको हो। लागुऔषधसहित मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
बरामद लागुऔषध र मोटरसाइकलसहित अन्सारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।