बिरगंज, ४ बैशाख  — पर्सा जिल्लाको इनर्वा गाउँस्थित सीमावर्ती नाकाबाट खुलेआम तस्करीको धन्दा चलिरहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले बारम्बार चोरी–तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि इनर्वा नाकाबाट तस्करी नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय स्रोतका अनुसार इनर्वाबाट दैनिक १५ देखि २० जनाको समूहले भन्सार छलि लत्ताकपडा, किराना, हार्डवेयर, माछा लगायतका सामग्री तस्करी गर्दै आइरहेका छन्। यस नाकाबाट मात्रै दैनिक झण्डै पचास लाख बराबरको सामान चोरी पैठारी भइरहेको अनुमान गरिएको छ, जसले राज्यलाई दैनिक लाखौं रुपैयाँको राजस्व घाटा गराइरहेको छ।

तस्करीमा संलग्न व्यक्तिहरूको पहिचानसमेत खुलेको छ। शेखावत, सरिता, रंगीला ठाकुर, बिगानी, मुन्ना, उमेश र विजय नाम गरेका व्यक्ति तस्करीका प्रमुख कारोबारीका रूपमा परिचित छन्। शेखावत समूहले लत्ताकपडा, उमेशले मरेको माछा, विजयले हार्डवेयर र मुन्नाले टेन्टको सामानको कारोबार गर्दै आइरहेको स्रोत बताउँछ।

इनर्वा गाउँस्थित प्रहरी चौकीमा असई संजय यादव प्रमुखको रूपमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको प्रस्तावित भन्सार गुल्मको नेतृत्व डिएसपी राईले गरिरहेका छन्। तर, सुरक्षा निकायहरूको उपस्थितिका बाबजुद पनि तस्करी रोकिएको छैन।

यस विषयमा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले प्रतिक्रिया दिँदै तस्करी नियन्त्रणका लागि निर्देशन दिइएको बताउँदै निगरानी अझ कडा बनाइने जानकारी दिए। साभार – जन प्रहार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय